धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा एक स्वतन्त्रसहित तीन जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । 

एमाले निकट प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनको संयुक्त प्यानलबाट धरानका सन्तोष काफ्लेले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् । यसैगरि,  प्रेस युनियनबाट बिद्रोह गर्दै माओवादी केन्द्र निकट प्रेस सेन्टरको समर्थनमा गणेश निरौलाले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । दुवै अध्यक्षले प्यानल उम्मेद्वारी दर्ता गराउदा कुनै संगठन र प्यानल विना स्वतन्त्ररुपमा धरानका पत्रकार शेखरनाथ जोगीले पनि अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । 

एक उपाध्यक्ष पदमा इनरुवाका अजित कुमार झा, इटहरीका अर्जुन सुवेदी र धरानका गोविन्द बस्नेतको उम्मेद्वारी परेको छ भने महिला उपाध्यक्षमा धरानकी मनिता चाम्लिङ र इटहरीकी यशोदा सेनेको उम्मेद्वारी परेको छ । सचिवमा खेमराज सापकोटा, तीर्थ कार्की र पर्शुराम बाह्रकोटी (विनय) ले उम्मेद्वारी दर्ता गरेका छन् । 

सहसचिवमा महेशप्रसाद गुँरागाई र विकल रेग्मी उम्मेद्वार छन् भने समावेशी सहसचिवमा मुस्ताक आलम र विरेन्द्र कुमार साहको उम्मेद्वारी परेको छ । कोषाध्यक्षमा जमुनादेवी श्रेष्ठ, बिक्रान्त श्रेष्ठ र विकल रेग्मीको उम्मेदवारी परेको छ । 

आदिबासी जनजाति सदस्यमा रमेशकुमार राई (साङ्देन) र विजयकुमार राईको उम्मेद्वारी परेको छ भने ८ जना खुल्ला सदस्यतर्फ ११ जनाको उम्मेद्वारी परेको छ । 

महिला सदस्यमा सिमा बस्नेत, दलित सदस्यमा विनोद विश्वकर्मा, मधेशी सदस्यमा सुरेन्द्र मेहता र मुश्लिम सदस्यमा नसिम आलमको मात्र उम्मेद्वारी परेको छ । निर्वाचन समितिले उनीहरुलाई निर्विरोध निवार्चित भएको घोषणा भने गर्न बाँकी छ । पत्रकार महासंघको शुक्रबार (मंसिर २८) मा एकैपटक जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमिति चयनको लागि देशभर मतदान हुदैछ ।