धरान: धरान उपमहानगरपालिका वडा नं १३ का एक व्यक्ति करेन्ट लागेर घाइते भएका छन् ।

प्रहरीका अनुसार धरान १३ का करिब ५० बर्षीय जीवन सुब्बा करेन्ट लागेर घाइते भएका हुन् । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घाइते सुब्बाका आफन्त एवं एवं कान्तिपुर दैनिक सम्बद्ध पत्रकार प्रदिप मेन्याङ्बोका अनुसार एक पाटा जलेको छ । 'करेन्ट लागेर घाइते हुनु भएकोले उपचार भइरहेको छ, शरीरको एक पाटा जलेको छ,'पत्रकार मेन्याङ्बोले भने ।

घाइते सुब्बा धरान १३ स्थित शिवधारा(बेसक्याम्प)स्थित चर्च अफ गडको प्रमुख पाष्टर हुन्, साथै उनी इमानुयल स्कुलका डाइरेक्टर पनि हुन् । निर्माण कार्य भइरहेको ठाउँमा बाँसको खट बाँधेको नरिवलको डोरी फुकाउने क्रममा हाइटेन्सको तार छोएर करेन्ट लागेको पत्रकार मेन्याङ्बोले बताए । 'शरीरको ३० प्रतिशत भाग जलेको छ, उहाँको वीपीमा हुन नसकेर काठमाण्डौं रिफर गरिदिएकोले लैजाने तयारी भइरहेको छ,'पत्रकार मेन्याङ्बोले भने ।