धरान: धरान २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रमा अवैधरुपमा सालको रुख काटिएको घटनामा डिभिजन वन कार्यालय सुनसरीले अनुसन्धान अधिकृत तोकेर अनुसन्धानको जिम्मेवारी दिएको छ ।

डिभिजन वन कार्यालयका सुनसरीका निमित्त प्रमुख ज्ञानकुमार लामाले आज(सोमबार) एक सातापछि अनुसन्धान अधिकृत तोकेका हुन् । लामाका अनुसार घटनाबारे अनुसन्धान गर्न सब डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख राजेन्द्रप्रसाद यादवलाई अनुसन्धान अधिकृत तोकिएको छ । यस्तै, उनलाई सहयोग गर्न प्रशासन प्रमुखलाई पनि निर्देशन दिइएको लामाले जानकारी दिए । ‘घटनाको अनुसन्धान गर्न अधिकृत तोकेर जिम्मेवारी दिएको छुँ, घटनाको यथार्थरुपमा अनुसन्धान गर्नुहुनेछ,’लामाले भने ।

यसअघि यादवले वरामदी मुचुल्का गर्नुको साथै वन समुहका पदाधिकारीहरुसँग सोधपुछ गनि गरेर शुक्रबार नै प्रारम्भिक प्रतिवेदन बुझाएका थिए । भालुढुंगा वन क्षेत्रमा सालको रुख अवैधरुपमा काटिए पछि उक्त घटनामा धरानका मेयर तिलक राई पनि मुछिएका छन् । मावली गाउँमा घर बनाउनको लागि काठ माग गर्दै निवेदन दिएका मेय राईको निर्देशनमा वन समुहका कोषाध्यक्ष भिम बस्नेतको रोहबरमा काटिएको आरोप छ । यही व्यवहोराको उजुरी वन समुहका अध्यक्षले सब डिभिजन कार्यालयमा दिएका छन् ।

तर, हिजो आइतबार बसेको कार्यसमिति बैठकमा भने मेयरको निर्देशनमा रुख काटिएको भन्नेमा अध्यक्ष बुद्धिमान तामाङ मात्र भए । उनीबाहेक अन्य ८ जनाले रुख कस्ले काटेको हो भन्ने थाह नभएको र खोजी भइरहेको माइन्युट गर्दै वन कार्यालयलाई जवाफ पठाएका छन् । मेयर राईले भने रुख आफ्नो निर्देशनमा नकाटेको दाबी गर्दै आएका छन् । उनले आफुलाई सुनियोजितरुपमा फसाउने षडयन्त्र गरेको प्रष्टीकरण दिदै आएका छन् । यद्यपी उनको अडियो रेडर्क सार्वजनिक भएपछि भने मेयर थप संकटमा परेका थिए ।