धरान: सालको रुख अवैधरुपमा कटिएको घटनामा धरानका मेयर तिलक राईविरुद्ध किटानी जाहेरी दिने भालढुंगा सामुदायिक वन समुहका अध्यक्ष बुद्धिमान तामाङ कार्यसमितिमा एक्लिएका छन् ।

सालको रुख मेयर राईको निर्देशनमा काटेको ठोकुवा गर्ने अध्यक्ष तामाङलाई उनकै कार्यसमितिमा अन्य कसैले पनि साथ दिएनन् । मेयर राईले भने आरोपको खण्डन गर्दै आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको बताउदै आएका छन् । अध्यक्ष तामाङले यसअघि नै मेयर र समुहका कोषाध्यक्ष भिम बस्नेतको नाम किटानी गर्दै वन कार्यालयमा उजुरी दिएका थिए भने ज्याला लिएर रुख काट्ने अन्य ४ जनाविरुद्ध पनि जाहेरी दिएका थिए ।

तर, आइतबार बैठकमा सालको रुख कस्ले काटेको भन्ने बिषयमा सर्वसम्मत निर्णय भने हुन सकेन । एघार जना कार्यसमिति भएको समुहमा बैठकमा ९ जना उपस्थित भएका थिए । ती मध्ये ८ जनाले रुख कस्ले काटेको हो भन्ने थाह नभएको लिखित जवाफ दिएका छन् । मेयर राईले भने आरोपको खण्डन गर्दै आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको बताउदै आएका छन् ।  

समुहका उपाध्यक्ष चन्द्रकला मगर, सचिव रिता राई, उपसचिव भुवन सिंह राई, कोषाध्यक्ष भिमबहादुर बस्नेत र सदस्य आइतीमाया राई गरि ५ जना एक कित्तामा उभिएका छन् । उनीहरुले रुख कस्ले, कुन प्रयोजनको लागि र कस्को आदेशमा काटिएको हो भन्ने थाह नभएको लिखित निर्णय गर्दै सब डिभिजन वन कार्यालयलाई जवाफ पठाएका छन् । उनीहरुले कटान भएको ठाउँको अनुगमन गरिएको र कस्ले गरेको भनेर खोजी भइरहेको तथा पहिचान नभएर कारबाही गर्न नसकिएको जवाफमा उल्लेख गरेका छन् । यस्तै, बरामदी मुचुल्कामा कतिपयले मेयरको निर्देशन र कोषाध्यक्षको रोहबरमा कटान गरेको भन्ने सुन्नमा आएपनि नदेखिएकोले सत्य भनेर ठोकुवा गर्न नमिल्ने उनीहरुको जवाफ छ । रुख कटानको खबर ढिलो आएको भन्दै ५ जनाले समुहको संलग्नता नभएको बताएका छन् ।

कार्यसमितिका ५ जनाको यो जवाफप्रति समुहका अध्यक्ष तामाङले भने असहमति जनाउदै मेयर राईको घर निर्माण प्रयोजनको लागि रुख काटिएको दाबी गर्दै भदौ १४ गते बेलुकी गल्ती स्वीकार गरेको लिखित जवाफ वनलाई पठाएका छन् । उनले घटनामा मेयर राईको आडमा व्यक्तिगतरुपमा कोषाध्यक्ष मात्र संलग्न भएकोले समुह संलग्न नभएको उल्लेख गरेका छन् ।

यस्तै, समुहका कार्यसमिति सदस्य दिवश वालाखाम, भीम परियार र शान्ति कटुवालले पनि वन कार्यालयलाई अलग्गै जवाफ पठाएका छन् । उनीहरुले पनि कसले, कुन प्रयोजनको लागि र कस्को निर्देशनमा रुख कटान भएको हो भन्ने थाह नभएको लिखित जवाफ पठाएका छन् । मेयरको निर्देशनमा कोषाध्यक्षको अगुवाईमा रुख कटान भएको कुरा पत्रपत्रिका, समाचारबाट थाह भएको उनीहरुको जवाफमा उल्लेख छ ।

सब डिभिजन वन कार्यालय विष्णुपादुकाका सहायक वन अधिकृत राजेन्द्र प्रसाद यादवले वन समुहको लिखित निर्णय आइतबार साँझ प्राप्त भएको जानकारी दिए । उनले शुक्रबार नै प्रारम्भिकरुपमा घटनाबारे प्रतिवेदन डिभिजन वन कार्यालय इनरुवामा बुझाएको जानकारी दिदै अनुसन्धान अधिकृत तोकिन बाँकी रहेको बताए । ‘मैले शुक्रबार नै प्रारम्भिक अनुसन्धानको प्रतिवेदन जे देखियो, त्यो बुझाएको छुँ, जिल्लाबाट अनुसन्धान अधिकृत तोकिएको छैन,’उनले भने,‘वन समुहको लिखित निर्णय पनि हिजो साँझ आएको छ ।’pic-1 pic-2