धरान: सालको रुख काटिएको घटनामा धरान २० भालढुंगा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षले थप ४ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
अध्यक्ष बुद्धिमान तामाङले हिजो (बिहिबार) ४ जनाको नाम किटानी गरेर पक्राउ गरि कानुन वमोजिम कारबाही गर्न सब डिभिजन वन कार्यालय विष्णुपादुकामा जाहेरी दिएका हुन् । उनले यसअघि पनि धरानका मेयर तिलक राईको निर्देशनमा र वन समुहका कोषाध्यक्ष भिम बस्नेतकै उपस्थितिमा सालको रुख काटिएको भन्दै किटानीसाथ वन कार्यालयमा निवेदन दिएका थिए । ‘हिजो हुलाकमार्फत किटानीसहित निवेदन आएको छ, त्यो पनि छानबिनको दायरामा आउछ,’सहायक वन अधिकृत राजेन्द्रप्रसाद यादवलले भने,‘वन समुहलाई प्रश्न सोधेका छौं, जवाफ आइसकेको छैन । यो पत्रले पनि अनुसन्धानलाई टेवा पुग्छ ।’
अध्यक्ष तामाङले किटानी उजुरी दिएकाहरु धरान ८ का शेरबहादुर तामाङ, धरान १९ का गजेन्द्र लिम्बु, रामबहादुर तामाङ र रामप्रसाद मगर छन् । विद्युतीय आरा प्रयोग गरि सालको रुख काटेर १२ थान टुना निकासी गर्ने अवस्थामा वरामद गरिएको र उनीहरुले आफुहरुले ज्याला मजदुरी मात्र गरेको भन्ने अभिव्यक्ति दिएको उजुरी पत्रमा उल्लेख गरेका छन् । साथै, उनीहरुलाई मेयरको स्कार्पियो गाडीमा आरासमेत राखेर भालढुंगा लगेको पनि पत्रमा उल्लेख गरिएको छ । अध्यक्ष तामाङले वन ऐन २०७६ र प्रचलित कानुन प्रतिकुल कसुर अपराध भएको हुँदा अभियुक्तहरुलाई पक्राउ गरि कानुन वमोजिम कारबाही तथा सजाय गर्न पनि माग गरिएको छ ।
गएको शनिबार भालढुंगा वन समुहको ब्लक नम्बर ३ को ढुंगेपानी सिरान भन्ने ठाउँमा एउटा सालको रुख ढालेर १२ वटा टुना बनाएको अवस्थामा उपभोक्ताहरुले फेला पारेका थिए । उक्त रुख धरानका मेयर राईको निर्देशनमा वन समुहका कोषाध्यक्ष भिम बस्नेतसमेतको संलग्नतामा अवैधरुपमा काटिएको आरोप लागेको छ । वन समुहका अध्यक्ष तामाङले यसअघि नै मेयर राई र कोषाध्यक्षविरुद्ध वन कार्यालयमा उजुरी गरिसकेका छन् । मेयर राईले आफ्नो संलग्नता नभएको दाबी गरेपनि उनको सार्वजनिक भएको अडियो रेडर्कले भने वन समुहमा घर बनाउनको लागि काठ माग गरेको, वन समुहले ढलापडा दिने भन्ने सहमति गरेपनि मेयर आफै खोज्न गएको, ढलापडा भेटे पनि चित्त नबुझेको लगायत कुरा भएको देखिन्छ ।