धरान: विप्लव समुहले निर्ममतापुर्वक घाँटी रेटेर हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको अन्त्येष्टी गरिएको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नं ७ स्थित नुनसरी खोलामा श्रेष्ठका आज अन्त्येष्टी गरिएको छ । उनको पार्थिव शरीरलाई छोरा छत्रबहादुरले दागबत्ति दिएका थिए । त्यसअघि श्रेष्ठलाई राजनीतिक दलका नेता, सांसद र स्थानीयले श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रेष्ठलाई नेकपा केन्द्रीय सदस्य गुरु वराल, संघीय सांसद घनश्याम खतिवडा, प्रदेश सांसद कुलप्रसाद लिम्बु कुशल, उपेन्द्र घिमिरे, गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य लगायतले श्रद्धाञ्जली अर्पण गरेको उपाध्यक्ष सरला राईले जानकारी दिइन् ।

मंगलबार बिहानै श्रेष्ठलाई मिक्लाजुङ १ स्थित घरबाट नै विप्लव समुहले अपहरण गरि लगेका थिए । करिब १ किलोमिटर दुरीको जंगलमा हात बाँधेर श्रेष्ठलाई घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको थियो । उनको हत्याको जिम्मा विप्लव समुहले लिइसकेको छ । पार्टीविरुद्ध सुराकी गरेको र सच्चिन चेतावनी दिदा पनि नसुध्रिएकोले हत्या गरिएको विज्ञप्तीमार्फत जनाएको थियो । मृतक श्रेष्ठ मिक्लाजुङ १ स्थित सरस्वती आधारभुत विद्यालयको प्रअ थिए ।

सहिद घोषणा गर्न र सशस्त्रको बेस क्याम्प राख्न प्रदेश सांसदको माग

kusal-limbu

प्रदेश सभा सांसद कुलप्रसाद साम्बा लिम्बु (कुलश)ले विप्लव समुहले हत्या गरेका शिक्षक श्रेष्ठलाई सहिद घोषणा गर्न माग गरेका छन् । श्रेष्ठको अत्येष्टी एवं श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुने क्रममा सांसद लिम्बुले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै यस्तो माग गरेका हुन् । उनले प्रदेश सभामा पनि आफुले यो मागलाई जोडदाररुपमा उठाउने पनि बताए । ‘उहाँलाई सहिद घोषणा हुनैपर्छ, र क्षतिपूति पनि दिनैपर्छ,’सांसद लिम्बुले भने ।

सांसद श्रेष्ठले एउटा राजेन्द्र श्रेष्ठको हत्या गर्दैमा क्रान्ति पुरा नहुने पनि बताए । उनले समाजसेवी व्यक्तिको हत्या गरेकोले विप्लव समुहलाई जिन्दगीभर घाटा हुने पनि चेतावनी दिए । मिक्लाजुङ १ का बासिन्दाहरु त्रसित र असुरक्षित महसुस गरिरहेकोले सरकारले सुरक्षाको प्रबन्ध गर्नुपर्ने पनि माग गरे । त्यसको लागि उक्त क्षेत्रमा सशस्त्र प्रहरीको बेसक्याम्प बनाउन पहिलादेखि नै माग गरिरहेको तर सरकारले वेवास्ता गर्दा अहिलेको घटना हुन पुगेको पनि बताए । ‘हामीले सशस्त्रको बेसक्याम्पस राख्नुपर्छ भन्यौं, वेवस्ता गरियो, र त्यसले गर्दा राजेन्द्र श्रेष्ठको हत्या भयो,’उनले भने,‘अब सरकारको चेत खुल्छ कि ?’

सांसद लिम्बुले एक बर्ष अघिदेखि नै त्यसक्षेत्रमा समस्या देखिएकोले सुरक्षा बेसक्याम्प राख्न माग गरिएको पनि बताए । गत बर्ष पुष ५ गते बाटो निर्माणको ३ वटा स्काभेटर जलाए पछि जनप्रतिनिधिहरु काठमाण्डौं गएर गृहमन्त्रीसँग भेट गरी सशस्त्र बेसक्याम्प राख्न माग गरेको उनले जानकारी दिए । मोरङको दुर्गम बस्ती भएकोले विप्लव समुहबाट जनताले दुःख पाइरहेको र जनता चेपुवामा परेको उनको भनाई छ । ‘अब पनि बेसक्याम्प राखेन भने त्यो ठाउँ प्रदेशको होइन, नेपालको होइन भन्ने हुनसक्छ । दोहोरो चपेटामा जनता पर्ने अवस्था आइसक्यो । अब त्यहाँ कसरी विकास निर्माणको काम हुन्छ, ? शिक्षकहरु कसरी काम गर्छन्, जनता कसरी बस्छन् ?’सांसद लिम्बुले भने,‘सरकारको उपस्थिति पुगेको छैन । १ नम्बर वडा कार्यालय छेउ छेउ सशस्त्रको बेसक्याम्प अनिवार्य राख्नुपर्छ । प्रक्रियामा अघि बढेको भन्ने जानकारी आएको छ ।’