सुनसरी: नेपाली कांग्रेसले आज सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रर्दशन गरेको छ ।
सरकारको सर्वसत्तावादी प्रवृति बढेको तथा भ्रष्टाचार वृद्धि भएको भन्दै कांग्रेसले आज देशका सबै जिल्लामा विरोध प्रर्दशन गरेको हो । सोही क्रममा कांगे्रस सुनसरीले सदरमुकाम इनरुवामा पनि आज विशाल विरोध प्रदर्शन गरेको छ । केही दिनअघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि तनहुँमा भएको अभद्र व्यवहार पछि कांग्रेस सरकारविरुद्ध आक्रोशित बनेको छ ।
इनरुवमा आयोजित विरोध सभामा कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले वर्तमान सरकार अधिनायकवाद र भ्रष्ट्रचारतर्फ उन्मुख भएको आरोप लगाए । उनले सरकारले समृद्धिको नारा मात्र ल्याएको भन्दै काम भने गर्न नसकेको दाबी गरे । ‘सरकारले समृद्धिको कुरा मात्र गर्यो, तर कुनै काम गर्न सकेन,’उनले भने ।
कोरोना रोकथाम तथा नियन्त्रणको नाममा वर्तमान कम्युनिष्ट सरकारले भ्रष्टचार गरिरहेको उनले आरोप लगाए । जनताको भावना र स्वास्थ्यमाथि सरकारले खेलवाड गरिरहेको भन्दै त्यसविरुद्ध सदन र सडकमा उत्रिएको कार्कीले बताए । वर्तमान सरकारबाट जनता आजित भएको दाबी गर्दै नेता कार्कीले कांग्रेसको विकल्प नरहेको बताए । ‘वर्तमान सरकार भ्रष्टचारमा लिप्त भयो, कमाउ धन्दामा लाग्यो, अबको नेतृत्व कांग्रेसको विकल्प छैन,’उनले भने । साथै, उनले अब राजतन्त्र फर्किन असम्भव रहेको समेत दाबी गरे ।
प्रदेश नं. १ का संसदीय दलका नेता तथा सुनसरी जिल्लाका पार्टी सभापति राजीब कोइरालाले वर्तमान ओली सरकार भ्रष्टचारमा लिप्त भएको बताए । विरोधसभामा सुनसरी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सीताराम मेहता, केन्द्रिय सदस्य कल्पना गच्छेदार, नेविसंघका केन्द्रिय सभापति राजिप ढुंगाना, नगरपालिकाका मेयर, गाउँपालिकाका प्रमुख लगायत कांग्रसका विभिन्न भातृ संगठनका नेताहरुले सम्बोधन गरे ।