धरान:संसद विघटन गरिएपछि सरकारमा रहेका ७ जना मन्त्रीहरुले सामुहिक राजिनामा दिएका छन् । राजिनामा दिनेहरुमा सबै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नपाल समुहका मन्त्रीहरु छन् ।

राजीनामा दिने मन्त्रीहरूमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेत, श्रम तथा रोजगारमन्त्री रामेश्वर राययादव र खानेपानी तथा सरसफाई मन्त्री विना मगर छन् । ‘गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,’ राजिनामा दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

पुर्वमाओवादी खेमाकै भएपनि गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले भने राजिनामा दिएका छैनन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमलाई साथ दिएको अर्थमा हेरिएको छ । आज बिहान मन्त्रीपरिषदको आकस्मिक बैठकले संसद विघटनको लागि सिफारिश गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषदको सिफरिश पछि आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्ने निर्णय गरेकी थिइन् । प्रतिनिधिसभाको आगामी निर्वाचन बैशाख १७ र २७ गते दुई चरणमा हुने भएको छ ।

rajinama_