काठमाण्डौं: प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् ।
संसद विघटन गरेर निर्वाचन घोषण भएको भोलीपल्ट आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले सरकारमाथि असहयोग र घेराबन्दीको कारण नै संसद विघटन गरी ताजा जनादेशको लागि जनताको बीचमा जानु परेको पनि जिकिर गरे ।
उनले निर्वाचनमा जादा संविधान अफ्ठेरोमा पर्ने, लोकतन्त्र संकटमा पर्ने र मुलुक अस्थिर हुने आशंकाहरु निराधार भएको पनि दाबी गरे । 'निर्वाचनमा जादा संविधान अफ्ठयारो पर्छ, लोकतान्त्रिक गणतन्त्त संकट पर्छ, र मुलुक अस्थिरता तिर धकेलिन्छ भनेर चलाउन खोजिएको प्रचार या फिजाउन खोजिएका आशंका र भ्रमहरु निराधार छ,'प्रधानमन्त्री ओलीले भने,'राजनीतिक स्थिरताको प्रत्याभूति गर्ने निर्णायक तत्व जनताको अभिमत हो । तसर्थ कुनै पनि कुरामा नअलमलिकन आम निर्वाचनको तयारीमा केन्द्रत हुन म सबैमा हार्दिक आह्वान गर्दछु ।' सरकारले आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको घोषणा गरिसकेको छ ।