धरान: नेकपाको ओली समुहले आगामी बर्षको मंसिर २ गते एकताको महाधिवेशन गर्ने निर्णय गरेको छ ।
आज वालुवाटारमा ओली पक्षको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । सोही बैठकले महाधिवेशनको लागि ११ सय ९९ जना सदस्यीय केन्द्रीय समिति पनि बनाएको छ । सोही बैठकले प्रवक्तामा प्रदिप ज्ञवालीलाई चयन गर्ने निर्णयसमेत गरेको थियो । यसअघि नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका थिए । ओली पक्षले पार्टी पुर्नगठन गरेको पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ ।
संसद विघटन पछि नेकपा फुटको संघारमा पुगेको छ । ओली र प्रचण्ड-माधव समुह दुवैले छुट्टा छुट्टै केन्द्रीय समिति बैठक बोलाएको थियो । आफ्नो समुहको बैठकमा ओलीले चुनाव हुन्छ कि हुन्न भन्ने द्धिविधा नराख्न आग्रह गर्दै दुई तिहाई बहुमत ल्याउने बताएका थिए ।
प्रचण्ड माधव समुहको बैठक शुरु
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठक पनि बबरमहलमा शुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने र नेता नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव लगिएको छ । आज बिहान प्रचण्ड-माधव समुहको बसेको स्थायी कमिटि बैठकले अर्को अध्यक्षमा नेपाल बनाउने निर्णय गरेको थियो ।