सुनसरी: नेकपामा विभाजन आएसँगै त्यसको प्रभाव सुनसरी जिल्लामा पनि परेको छ ।

नेकपाका दुवै समुह नेता, कार्यकर्ताहरुको भेला आयोजना गर्न दौडधुपमा छ । आज एकै दिन सुनसरीमा नेकपा(ओली समुह) र प्रचण्ड माधव समुहको कार्यक्रम आयोजना भएको थियो । इटहरीमा प्रचण्ड समुहको जिल्ला भेला आयोजना हुँदा ओली समुहले भने दुहबीमा सुनसरी क्षेत्र नं ३ को क्षेत्रीय भेला तथा अन्र्तक्रिया आयोजना गरेको थियो ।

भेलालाई सम्बोधन गर्दै नेकपाकी नेतृ भगवती चौधरीले विकास र समृद्धिको बाटोमा सरकार लागेपनि जनमतको अवमुल्यन गर्दै प्रधानमन्त्रीलाई घेराबन्दी गरेर अहिलेको परिस्थिति सृर्जना भएको बताइन् । ओलीले गरेको संसद विघटनको समर्थन गर्दै उनले नयाँ जनादेशबाट मुलुकले स्थायी निकास पाउने बताइन् । ‘पार्टी एकीकरणको कामलाई पुर्णता दिन छोडेर प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने, अफठेरोमा पार्ने र आफ्नै बहुमतको सरकार नै ढाल्ने षडयन्त्र हुन थालेपछि प्रधानमन्त्रीले पुनः जनतामाझ जाने निर्णय लिनु भएको हो,’ नेतृ चौधरीले भनिन् ।

sunsari-3-bhela

नेतृ चौधरीले निर्वाचनको तयारीमा लाग्न पनि नेता कार्यकर्ताहरुलाई आग्रह गरिन् । केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज जगदिशप्रसाद कुसियैतले संसद विघटनले देश दुर्घटनाबाट जोगिएको बताए । उनले अबको निकास ताजा जनादेश भएको पनि बताए । प्रदेश १ सरकारको उद्योग पर्यटन वन तथा वतावरण मन्त्रीसमेत रहेका कुसियैतले सरकारको कामबाट आत्तिएका आफ्नै पार्टीका नेताहरुले घेराबन्दी गरेर पार्टी विभाजनको अवस्थामा पुर्याएको बताए ।

प्रतिगामीहरुलाई फाईदा पुग्ने गरि माधव नेपाल र प्रचण्डले सहयोग गरेको थाह पाएर नै संसद विघटन गरेर देश दुर्घटना हुनबाट जोगिएको र नयाँ जनादेशबाट निकास खोज्नुपर्ने कुसियैतले बताए । उक्त भेलालाई नेकपाका केन्द्रीय सदस्य रेवतीरमण भण्डारी, खेमराज पोखरेल, मुरारी सुवेदी, निलम बस्नेत, तैयव हुसेन, रोहित कार्की, लक्ष्मी गौतमलगायतले पनि सम्बोधन गरेका थिए ।