धरान: संसद विघटनविरुद्ध आन्दोलन गर्न धरानमा नेकपाको प्रचण्ड माधव समुहले आन्दोलन परिचालन परिचालन कमिटी गठन गरेको छ ।
आज धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित विस्तारित बैठकले १५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको हो । समितिको संयोजकमा प्रदेश कमिटी सदस्य तथा धरान इञ्चार्ज अइन्द्रबिक्रम बेघा रहेका छन् भने सहसंयोजकमा जिल्ला कमिटी सचिवालय तथा नगर इञ्चार्ज फोक्वाहाङ सुब्बा चोत्लुङ रहेका छन् । समितिको सचिवमा धरान अध्यक्ष नारायण सुवेदी रहेका छन् । यस्तै, आन्दोलन परिचालन कमिटीको कार्यालय सदस्यहरुमा धरानमा रहेका प्रदेश सदस्य, जिल्ला सदस्य र नगरको कार्यालय सदस्यहरु रहने गरि समिति गठन गरिएको नगर कमिटी सचिव सुर्दशन श्रेष्ठले जानकारी दिए । अन्य सबै सदस्यहरु रहेको पनि उनले बताए ।
यस्तै, बैठकले विभिन्न ३ वटा उपसमिति पनि गठन गरेको सचिव श्रेष्ठले जानकारी दिए । उनका अनुसर स्थानीय निकाय र प्रहरी प्रशासनसँग समन्वय गर्न जयकुमार राई संयोजक रहेको उपसमिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा उमिता वराइली र सावित्री जोशी श्रेष्ठ सदस्य छन् । यस्तै, आर्थिक समिति संयोजकमा चोत्लुङ र सदस्यहरुमा राजमणी निरौला, सुर्यबहादुर भट्टराई (मनोज) रहने गरिन समिति गठन गरिएको छ । यस्तै, युवा परिचालन उपसमितिको संयोजकमा पदम लिम्बु रहेका छन् भने सदस्यहरु हरि लिम्बु र हिमाल लिम्बु रहने गरि गठन गरिएको छ ।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज धर्मराज निरौलाले केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी बुर्जुवा पार्टीमा पतन भएर जाने बताए । ‘यो पार्टी अहिले पनि नेपाल कम्युनिष्ट पार्टी हो । केपी ओलीले नेतृत्व गरेको पार्टी बुर्जुवा विचारमा पलायन भएको पार्टी हो,’निरौलाले भने,‘ओलीको गणतन्त्रप्रति इमान्दारिता, विश्वास, मेहनत, खुन पसिना बगेको छैन । त्यसैले इमान्दार छैनन् । उनले बुर्जवाहरुको खेतला बनेर कम्युनिष्ट आन्दोलनलाई पतनको बाटोतिर लैजाने काम गरे । कम्युनिष्ट रहने हो भने यता आउनुस्, बुर्जुवा रहने हो भने उता जानुस् ।’
बैठकलाई केन्द्रीय सदस्य किरण राई, प्रदेश १ सदस्य मुक्साहांग मेन्यांबो मुकेश, जिल्ला सचिव रमेश बस्नेत, विघटित संसदका सांसद जयकुमार राई, प्रदेश सदस्य तथा प्रदेश सांसद उमिता वराइली, जिल्ला अध्यक्ष पप्पु मण्डललगायतले पनि सम्बोधन गरेका थिए । उनीहरुले संसद विघटन असंवैधानिक कदम भएकोले आन्दोलन आवश्यक भएको र पुर्नस्थापना गरिछोड्ने बताए ।