इटहरी: नेकपा प्रचण्ड-माधव समुहको इटहरीमा सम्पन्न विस्तारित बैठकले संसद विघटनविरुद्ध संघर्ष समिति गठन गरेको छ ।

आज मंगलबार इटहरीको विस्तारित बैठकले १ नम्बर प्रदेश कमिटी सदस्य केशव विष्ट संयोजक रहेको इटहरी उपमहानगरपालिकास्तरीय संघर्ष समिति गठन गरेको हो । सदस्य सचिव इटहरी नगर अध्यक्ष बहादुर सिंह तामाङ (ज्वाला) सदस्य सचिव रहेको संघर्ष समिति १३ सय ५७ सदस्यीय रहेको छ । हिजो मात्र धरानमा पनि प्रचण्ड माधव समुहको विस्तारित बैठकले १५ सय १ सदस्यीय संघर्ष समिति गठन गरेको थियो ।

इटहरी उपमहानगर कमिटी इञ्चार्ज राजकुमार गिरीका अनुसार बैठकले केन्द्र र प्रदेश कमिटीको आन्दोलनसँग समायोजन गरेर विभिन्न संघर्षका कार्यक्रमहरु पनि तय गरेको छ । उनका अनुसार भोली पुष २२ गते विभिन्न राजनीतिक दलहरुसँग अन्र्तक्रिया गर्ने, २३ गते नागरिक समाजसँग अन्र्तक्रिाय गर्ने कार्यक्रम रहेको छ । यस्तै, पुष २४ गते १ नम्बर देखि १० नम्बर वडासम्म वडा बैठक र संघर्ष समिति गठन गर्ने, पुष २५ गते वडा ११ देखि वडा नं २० सम्म बैठक र संघर्ष समिति गठन गर्ने कार्यक्रम तय गरिएको पनि गिरीले जानकारी दिए ।

nekapa-itri1

यसैगरि, पुष २६ गते सडकमा संविधान वाचन गर्ने कार्यक्रम रहेको छ भने २७ गते प्रदेश कमिटीको आयोजनामा हुने कार्यक्रममा सहभागी हुने, २८ गते सबै वडाका टोल बस्तीहरुमा कालो झण्डा गाड्ने र २९ गते निर्वाचन क्षेत्र स्तरीय कार्यक्रममा सहभागगिता जनाउनेलगायत संघर्षको कार्यक्रमहरु तय गरिएको छ । ‘केन्द्रको कार्यक्रम, प्रदेशको कार्यक्रमसँग पनि समायोजन गरेर स्थानीयस्तरको संघर्षको कार्यक्रमहरु बनाइएको छ,’इञ्चार्ज गिरीले भने ।

उनका अनुसार माघ १ गते मजदुर र विद्यार्थीहरुको भेला गरेर संघर्ष समिति गठन हुनेछ भने २ गते सबै वडाहरुमा विरोध प्रदशन र सभा गरिनेछ । यसैगरि, माघ ५ गते पकली, इटहरी, खनार र तरहारहा विरोध सभा गर्ने, माघ १० गते मोटरसाइकल र्याली गर्ने, १६ गते १ नम्बर प्रदेशस्तरीय सभामा सहभागी हुने कार्यक्रम तय छ । विस्तारिक बैठकलाई केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज धर्मराज निरौला, केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रामकुमार चौधरी, प्रदेश कमिटी सल्लाहकार सुर्यकुमार राई, जिल्ला कमिटी सदस्य रामप्रसाद चौलागाईलगायतले सम्बोधन गरेका थिए ।