इटहरी: अनेरास्ववियु सुनसरीको संयोजकमा रोशन रेग्मी चयन भएका छन् ।
इटहरीमा बुधबार प्रधानमन्त्री केपी ओली पक्षका जिल्ला बिशेष कार्यकर्ता भेलाले रेग्मी संयोजक भएको १२५ सदस्यीय अधिवेशन आयोजक कमिटी चयन गरेको हो । सोही भेलाले नवराज खडकालाई सह संयोजकमा चयन गरेको संगठनका निवर्तमान संयोजक एवं केन्द्रीय सदस्य जिबि गजलले जानकारी दिए । उक्त भेलालाई सम्वोधन गर्दै प्रमुख अतिथि एवं प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मुलधारको नेकपामा संगठित हुन विद्यार्थीहरुलाई आग्रह गरेका थिए । भेलालाई नेकपाका केन्द्रीय सदस्यहरु मोतीराज सुनुवार, मुरारी सुवेदी, बिजय राइ, अनेरास्ववियू केन्द्रीय कार्यालय सदस्य श्रमिक वडालले सम्वोधन गरेका थिए ।
उक्त भेलाले माघ १५ गतेभित्र सबै क्याम्पस, नगर र स्थानीय तहमा कमिटी निर्माण गर्ने निर्णय गरेको गजलले जानकारी दिए । साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई स्वागत गर्ने, निर्वाचनको माहौल बनाएर आफ्ना उम्मेदवारलाई जिताउन केन्द्रीत हुने पनि भेलाले निर्णय गरेको उनले बताए ।
संगठनले स्थानीय तहहरुको संयोजक र सहसंयोजक पनि तोकेको छ । इटहरीको संयोजकमा युनिश ढकाल र नेत्र विष्ट सहसंयोजक छन् भने धरानको संयोजकमा अदितश्री अधिकारी र एनिस रेग्मी सहसंयोजक छन् ।
यस्तै, इनरुवाको संयोजकमा असिम आचार्य र चिरञ्जिवि आर्चाय सहसंयोजक रहेका छन् । वराहक्षेत्रको संयोजकमा सुवोध डोटेल, पूजा सुवेदी सहसंयोजक, दुहवीको संयोजकमा अनोज कटुवाल, विप्लव रिजाल सहसंयोजक, भोक्राहा नरसिंहको संयोजक अज्मोल अन्सारी, खालिद अन्सारी सह संयोजक र वर्जुको संयोजकमा सद्दाम हुसेन अन्सारी र मोजाहिद मिया सहसंयोजक रहेका छन् ।