धरान: नेकपाको प्रचण्ड नेपाल समुहको अनेरास्ववियु जिल्ला कमिटी सुनसरीको सचिवालय बैठकले ओली समुहका विद्यार्थी नेताहरुलाई कारबाही गरेको जनाएको छ ।
जिल्ला कमिटीको सचिवालय बैठकले संगठन र बिधान बिपरित कार्य गरेको भन्दै ओली पक्षका विद्यार्थी नेता एवं जिल्ला संयोजक जिबि गजलसहित ५ जनालाई कार्वाही गरेको विज्ञप्तीमार्फत जनाएको छ। बैठकले गजललाई संयोजक नरहने गरि कारबाही गरिएको र अनुमोदनको लागि केन्द्रीय कमिटीमा सिफारिश गरिएको प्रचण्ड नेपाल समुहको अनेरास्ववियु सह ईन्चार्ज बुद्रोस लिम्बुले जानकारी दिए ।
यस्तै, अनेरास्ववियु सुनसरीका कार्यालय सदस्य रोशन रेग्मी, जिल्ला सचिवालय सदस्य नवराज खड्का, जनता बहुमुखी क्याम्पस इटहरीका संयोजक उज्वल सिग्देल र महेन्द्र बहुमुखी क्याम्पस धरानका सह संयोजक शेखर रेग्मीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको लिम्बुले बताए ।बैठकमा जिल्ला सदस्य तथा विद्यार्थी इन्चार्ज लोकेश निरौला, नेपाल कम्युनिष्ट पार्टी जिल्ला सचिवालय सदस्य मदन चुडाल, अनेरास्ववियु केन्द्रिय सदस्य खेम रणपहेली र एकराज दाहालको उपस्थिति रहेको थियो । संयोजक गजलको नेतृत्वमा बुधबार इटहरीमा नेकपा ओली समुहको विद्यार्थीहरुको जिल्ला भेला भएको थियो । उक्त भेलाले रोशन रेग्मी संयोजक रहेको १२५ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी चयन गरेको थियो ।