विराटनगरः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे प्रतिनिधि सभाको बैठक बस्ने उद्घोष गरेका छन् ।
विराटनगरमा शुक्रबार भएको विरोध सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले जनताको अदालतले चुनेको प्रतिनिधि सभाको बैठक आवश्यक परे सभामुखले आव्हान गर्न सक्ने चेतावनी दिएका हुन् । उनले आफुलाई अदालत र निर्वाचन आयोगप्रति पुर्ण विश्वास रहेपनि प्रतिनिधिसभा केपी ओलीका लागि मात्र विघटित भएको र सँविधानतह विघटित नभएको जिकिर गरेका छन् ।
प्रचण्डले ओलीको आयू धेरै नभएको र श्री ३ बन्न खोज्नेलाई जनताको अदालतले दण्डित गर्ने बताए । शक्ति हालतमा लिने र आफुविरुद्ध निरन्तर प्रहार गरिरहेको भन्दै सामान्य नैतिकतासमेत ख्याल नगरिएको प्रति आक्रोस व्यक्त गरे ।
त्यस्तै अर्का अध्यक्ष माधव कुमार नेपालले ओलीलाई निर्वाचन आयोगले पहिलो धक्का दिएको भन्दै विस्तारै उनको टीमका मान्छे पाखा लाग्ने तर्क गरे । ओलीलाई भस्मासुरसँग तुलना गर्दै नेपालले उनी कहिलेपनि कम्युनिष्ट चरित्र नअंगालेको र प्रतिगामी शक्तिको गोटी बनेको आरोप लगाएका छन् ।
बरिष्ठ नेता झलनाथ खनालले ओलीले केहि मान्छेलाई पैसा दिएर आफुतिर तानेको आरोप लगाउँदै ति केहि दिनमा मुल थलोमा फर्किने ठोकूवा गरे । नेता खनालले अरु जेल बस्दा सँगठन विस्तार गर्ने गरेपनि ओलीले धार्मिकग्रन्थ पढेर सकूनीको मात्र चरित्र अँगालेको आरोप लगाए । ओलीका अभिव्यक्ति प्रति संकेत गर्दै खनालले विरोधीलाई भन्नेशैली समान्य नागरिकको चरित्र भित्र नपर्ने भन्दै ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा कुनै नैतिक आधार नभएको तर्क गरे । विराटनगरको बजार क्षेत्र महेन्द्र चौकमा भएको सभालाई नेताहरु योगेश भट्टराई, भीम आचार्य र शिवकुमार मण्डलले समेत सम्बोधन गरेका थिए । प्रदेश स्तरीय भेलामा हजारौँको सहभागीता रहेको थियो ।