काठमाडौँ: सत्तारुढ दल नेकपाकै प्रचण्ड माधव समुहले बिहिबार आमहड्ताल आह्वान गरेपनि सरकारले भने ढुक्क भएर यातायात चलाउन, उद्योग धन्दा, व्यवसाय खोल्न आग्रह गरेको छ ।
गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ती जारी गर्दै उद्योग, व्यवसायमा कुनै वाधा, अवरोध हुन नदिने गरि सुरक्षा व्यवस्थाप मिलाइने जनाएको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'दैनिक रुपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हसँदा यातायात व्यवसायी लगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववर्त रुपमा आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न गृहमन्त्रालय आग्रह गर्दछ ।'
आन्दोलनका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधमा संलग्नमाथि कारबाही गर्ने पनि गृहको विज्ञप्तीमा उल्लेख छ । प्रचण्ड माधव समुहले संवैधानिक निकायहरुमा बलजफ्तीरुपमा सरकारले नियुक्ती गरेर सपथ ग्रहण गराएको विरोधमा बिहिबार आमहड्ताल गरेको जनाएको छ । अस्पताल, पानी, एम्बुलेन्स, दुधलगायत अत्यावश्यक सेवाको गाडी भने नरोकिने जनाएको छ ।