धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक चलिरहदा आज बुधबार बैठक कक्षमा नै अचानक कुकुर प्रवेश गर्यो । महत्वपुर्ण एजेण्डामा छलफल भइरहद बैठकस्थलमा कुकुर प्रवेश गरेपछि केहीबोर बैठक नै रोकियो ।

एक कर्यापालिका सदस्यका अनुसार उक्त कुकुर २ पटक बैठक हलभित्र प्रवेश गरेको थियो । पटक पटक कुकुर वैठक कक्षमा प्रवेश गरेपछि मेयर तिलक राई निक्कै रिसाएका थिए । बैठक कक्षभित्रै 'एट्याच ट्वाईलेट' नभएकोले कार्यपालिका सदस्यहरु बेला बेला बाहिर निस्कनु पर्ने हुन्छ । कर्मचारीहरु पनि बैठकमा चिया खाजा पुर्याउन जादा ढोका खोल्नुपर्ने हुन्छ । त्यही मौकामा उक्त कुकुर पनि बैठक हलभित्रै प्रवेश गरेको थियो ।

kukur1

बैठक हलको ढोकामा सुरक्षाको लागि बसेका नगर प्रहरीले २ पटकसम्म उक्त कुकुर भित्र प्रवेश गर्दा पनि थाह पाउन सकेनन् । ‘गम्भीर बिषयमा छलफल चलिरहेको थियो, बीचैमा कुकुर आएपछि अचानक रोकिनुपर्यो । ढोकामा आज ३ जना नगर प्रहरी थिए, कसैले पनि देखेन कि के भयो, मेयर साब साह्रै रिसाउनु भयो,’ती कार्यपालिका सदस्यले भने । मेयर तिलक राईले बैठक हल व्यवस्थित र सुविधा सम्पन्न नहुँदा समस्या भएको बताए । ‘कार्यकक्ष व्यवस्थित छैन, अट्याच सुविधासम्पन्न छैन । त्यसैले भित्र बाहिर हुन्छ,’मेयर राईले भने,‘व्यवस्थित नभएको कारणबाट यस्तो हुन्छ ।’

वैठक समयमा शुरु नहुँदा रिसाए वडाअध्यक्ष

कार्यपालिका बैठक तोकिएको समयमा शुरु नहुँदा १८ नम्बर वडाका अध्यक्ष प्रविण राई रिसाएका छन् । उनले अघिल्लो बैठकहरु पनि समयमा शुरु नभएको भन्दै आक्रोश पोखेको एक कार्यपालिका सदस्यले जानकारी दिए । वडाअध्यक्ष राईसँग सम्पर्क गर्दा उनले १० बजेदेखि वडा कार्यालयमा पनि पुग्नुपर्ने भएकोले वैठक तोकिएकै समयमा शुरु हुनुपर्ने भनेर कुरा राखेको बताए ।

बिहान ८ बजेको लागि आह्वान गरिएको बैठक ९ बज्दा पनि शुरु नहुने र पछि अबेरसम्म बैठक हुँदा वडा कार्यालयको काममा असर पुग्ने गरेको बताए । जहिल्यै बैठक ढिला शुरु हुन्छ, हामी त वडामा पनि गएर काम गर्नुपर्ने हुन्छ, त्यसैले समयमा नै बैठक शुरु होस् भनेर मेयर साबलाई कुरा राखेको हो, उनले भने, समयको ख्याल सबैले गर्नुपर्छ । बैठक समयमा नहुँदा बाहिर चियागफ भइरहेको हुन्छ ।