धरान: प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख अधिकारीले आज शुभकामना सन्देश जारी गर्दै ‘शहिदको सपना साकार पार्नु हामी सबै नेपाली नागरिकको परम कर्तब्य भएको बताएका छन् । उनले जिम्मेवारीसहितको स्वतन्त्रता र स्वतन्त्रतासहितको नैतिकता प्रजातन्त्रको सौन्दर्य भएको पनि बताएका छन् । ‘शहिदको सपना साकार पार्नु हामी सबै नेपाली नागरिकको परम कर्तब्य हो,’सन्देशम भनिएको छ,‘जिम्मेवारी सहितको स्वतन्त्रता र स्वतन्त्रता सहितको जिम्मेवारी हो, नैतिकता सहितको स्वतन्त्रता र स्वतन्त्रता सहितको नैतिकता नै प्रजातन्त्रको सौन्दर्यता हो । हामीलाई हामीबाट निर्मित संविधानले यही जिम्मेवारी सुम्पेको छ ।’
प्रदेश प्रमुख अधिकारीले निरंकुश जहाँनिया शासन व्यवस्थालेखि लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म स्वतन्त्रता, स्वधिनता, स्वाभिमान र प्रजातन्त्रको लागि जीवन उत्सर्ग गर्ने शहिदहरुप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् । साथै, नेपाल र नेपालीको हकहित र अधिकारका लागि पटक पटक भएको जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको स्मरण गर्दै उनले बेपत्ता र पीडित नागरिकहरुका लागि उच्च सम्मान पनि व्यक्त गरेका छन् । शुभकामना सन्देशमा भनिएको छ,‘वीर, अमर, त्यागी, कर्मनिष्ठ र भविष्यद्रष्टा शहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सबै किसिमका विभेदको अन्त्य गर्न सकेमा सहज हुने मात्र होइन, शहिदहरुप्रतिको सच्चा र उच्च सम्मान साथै श्राद्धाञ्जली हुने भएकाले वर्तमान अवस्थामा अझ सुदृढ र एकजुट भएर राष्ट्रको सम्मुनत दिगो विकासमा संलग्न हुन सरोकारवाला सबै र आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछुँ ।’
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त भएको उल्लेख गर्दै राजनीतिक स्थीरता, दिगो शान्ति, सुशासन, वित्तीय अनुशासन, मितव्ययीता, भ्रष्ट्राचार बिरुद्ध शुन्य सहनशीलता कायम गर्नुपर्ने अधिकारीले बताएका छन् । साथै, सबै प्रकारको विभेद र छुवाछुतको अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा राष्ट्रको दीगो विकास भए मात्र प्रजातन्त्र दिवसको सार्थकता हुने पनि उल्लेख छ ।