धरान: धरानको वडा नं १३ र २० को सिमाना सर्दु खोला किनारमा निर्माणाधिन वीपी स्मृति पार्कमा विश्वेश्वर प्रसाद(वीपी) कोइरालाको सालिक स्थापना भएको छ ।
धरान उपमहानगरपालिकासहित विभिन्न दाताहरुको सहयोगमा निर्माण भएको सालिकको शुक्रबार राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा अनावरण भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उक्त सालिकको अनावरण गरेका थिए । उक्त सालिक धरानका कलाकार महेन्द्र राईले निर्माण गरेका हुन् । सालिक वीपी कोइरालाकै उचाई अनुसार ५ फिट ६ इञ्च रहेको छ । सालिक बाहेक पनि ५ फिट ग्रेनाइडको फाउण्डेसन राखिएको सालिक निर्माणको नेतृत्व गरेको संस्था परिवर्तनशिल समाज नेपालका अध्यक्ष विश्वराज भण्डारीले जानकारी दिए ।
सालिक बनाउन उपमहानगरले ५ लाख रुपैया दिएको थियो । विभिन्न दाताहरुले पनि सहयोग गरेका थिए । सालिकबाहेक पनि ड्रेन बनाउने, रोप वे रहेको भित्ता सफाई गर्नेलगायतको कार्यहरुमा पनि खर्च भएको उनले बताए । वीपी कोइरालालाई विराटनगरमा पक्राउ गरेर धरानको फुस्रे हुदै काठमाण्डौं लगिएको हुनाले यो ठाउँमा वीपी स्मृति पार्क निर्मांण गरिएको हो ।
संग्राहलय र पार्क व्यवस्थित गर्न पौडेलको आग्रह
नेता पौडेलले सालिक अनावरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षण गर्न पनि आग्रह गरेका थिए । उनले वरिपरि संग्रहालय बनाउन र पार्कलाई अझै व्यवस्थित गर्न आग्रह गरे । राजनीतिक प्रसंगमा उनले संसद पुर्नस्थापना हुनुपर्ने बताए । साथै, प्रदेश १ सभामा कांग्रेसले अविश्वासको प्रस्तावमा समर्थन गरेर जानुपर्ने पनि धारणा राखे ।
कार्यक्रममा कांग्रेस जिल्ला सभापति एवं प्रदेश सभाका विपक्षी दलका नेता राजिव कोइराला, अधिवक्त हरिहर दाहाल, मेयर तिलक राई, वीपी चिन्तन प्रतिष्ठानका सभापति आनन्द आचार्यलगायतले पनि बोलेका थिए । सालिक निर्माणका दाताहरुलाई कदर पत्र पनि प्रदान गरिएको थियो ।