विराटनगर: नेकपा ओली समुहका नेता सुवास नेम्बाङले सरकारले घोषणा गरेको चुनावलाई जनताले अनुमोदन गरिसकेको बताएका छन् ।
आज विराटनगरमा भइरहेको आमसभालाई सम्बोधन गर्दै नेम्बाङले सरकारले घोषणा गरेको बैशाख १७ र २७ गतेको चुनावलाई जनताले अनुमोदन गरिसकेको बताएका हुन् । ‘जनताबाट बैशाख १७ र २७ गतेके निर्वाचन अनुमोदन भइसकेको छ । जनताले दुधको दुध पानीको पानी छुट्याउन चाहन्छन्, फैसला जनताले गरिसके,’उनले भने,‘अब सम्मानित अदालतको फैसला कुरिरहेका छौं ।’
अब सर्वोच्च अदालतको फैसला मात्र आउन बाँकी रहेको र त्यो पनि फागुन १५ गतेभित्र आउने बताए । ‘सर्वोच्च अदालतले के गर्छ भन्ने चासो छ । बहस टुंगिसकेको छ । एमीकस क्युरी सहयोगीले पनि बहस टुंग्याइसकेको छ, उहाँहरुले आफ्नो कुरा राख्नु भएको छ,’उनले भने,‘जनताले चुनावमा जाने फैसला गरिसकेका छन् ।’ सर्वोच्च अदालतले फैसला गरेको भोलीपल्ट सबै दलहरुले भोट माग्न थाल्ने उनले बताए । निर्वाचनको महोल शुरु भइसकेको पनि हेक्का राख्न नेम्बाङले बताए ।
प्रतिनिधिसभा विघटनबारे सर्वोच्चमा मुद्दा विचाराधिन रहेको भन्दै उनले स्थायी सांसद राष्ट्रिय सभा रहेको बताए । ‘स्थायी सांसद राष्ट्रियसभा छ, अहिले पनि क्रियासिल छ, राजनीतिक दलको उपस्थिति छ, प्रदेश सरकार छ, स्थानीय सरकार छ,’उनले भने,‘केपी ओलीले जनताको निर्णय सिरोपर छ, जनतामा जाउँ भन्दा कसरी प्रगतिगमन भयो ?’