विराटनगरः नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले हिजो विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार इटहरीमा प्रेस युनियन सुनसरीले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्री ओलीको भनाईप्रति आपत्ति जनाएका हुन् । ‘हिजो मोरंगमा आएर प्रधानमन्त्रीले दुईटा आपत्तिजनक कुरा बोलेका छन् । एउटा आपत्तिजनक कुरा के हो भने अदालतले विघटनालाई सदर गर्दिएन भने म आन्दोलन गर्छु भन्छ,’पौडेलले भने,‘राष्ट्रको प्रधानमन्त्री स्वयम् आन्दोलनको धम्की दिन्छ, अदालतमाथि धम्की दिन्छ । यो प्रतिपक्षले प्रष्ट धरणा नराखेको हुनाले हाम्रो कमजोरीले गर्दा प्रधानमन्त्रीले यतिसम्म गर्ने हिम्मत बढेको छ ।’

आफ्नो विरुद्ध सर्वोच्च अदालतले फैसला गरे आन्दोलन गर्ने भनेर निर्लज्जतापुर्वक ओलीले धम्की दिइरहेको नेता पौडेलले बताए । ‘प्रधानमन्त्री फासिष्टरुपमा देखिन थाल्यो । अधिनायक प्रधानमन्त्रीकोरुपमा क्रमशः रुपान्तरण हुदैछ, हिजो त्यसको प्रमाण हो,’उनले भने,‘कांग्रेसले यसको प्रतिवाद गर्ने कि नगर्ने ? गर्नुपर्छ, हामी गछौं ।’

पौडेलले प्रधानमन्त्रीले ‘यो चुनाव हामीले हार्ने होइन, चुनाव हार्नको लागि गरेको होइन,’ भनेर धाँधली गरेर चुनाव जित्ने षडयन्त्र गरिरहेको भन्दै आपत्ति जनाए । ‘यो चुनाव हामीले हार्न गरेको होइन, भनेर देशको प्रधानमन्त्तीले अरुले जित्न पाइदैन भन्या के ? धाँधली गरेर चुनाव कब्जा गर्ने योजना हो ? भित्रभित्रै तानाबुना गरिरहेको छ,’पौडेलले भने,‘यसकुराबाट सचेत हुनुपर्ने, गम्भीर हुनुपर्ने बेला हो ।’

प्रधानमन्त्रीको यी दुई अभिव्यक्तिले मुलकुलाई सर्वसत्तावाद, अधिनायकवादतर्फ लैजाने प्रयास भइरहेको पनि उनले बताए । उनले काँग्रेसले निर्वाचन जान नहुने भन्दै संसद पुनस्र्थापना पहिलो सर्त रहेको बताए । काँग्रेसले स्पष्ट रुपमै ओलीको कदमलाई प्रतिगामी र सँविधान विपरित रहेको आधिकारित निर्णय गरिसकेको हुँदा चुनावमा नअलमलिन आग्रह गरे ।