विराटनगरः प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले आफ्नो पक्षमा निर्णय नभए देशभर आन्दोलन हुने चेतावनी दिएका छन् ।
विराटनगरमा नेकपा प्रदेश एकले गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले चुनाव चिन्ह सुर्य आँफैले पाउने जिकिर गर्दै सर्वाेच्च अदालतको निर्णय पनि आँफु अनुकुल हुने जिकिर गरे । उनले सर्वोच्च अदालतले देशभरको सभा हेरिरहेको होला भन्दै देशलाई अस्थितरतातर्फ फर्काउन कसैले नसोचे हुन्छ भनि जनताको मनोभावना हेर्न समेत आग्रह गरे । ‘देशभरमा अब कुनै शक्तिले रोक्न सक्दैन,’उनले भने,‘स्थितरता चाहिनका लागि पनि हामीले नै पुनः नेतृत्व गर्नुपर्छ । हाम्रो पक्षमा निर्णय नभए देशभर आन्दोलन हुनेछ ।’
जनताले पुनः निर्वाचन मार्फत ताजा जनादेशमा जान चाहेको देशभरका सभामा पुष्टि भइरहेको भन्दै जनताले चुनावको अनुमोदन गरेको बताए । उनले निर्वाचन आयोगले चुनावको काम गरिरहेको भन्दै चुनाव नहुने होकी भन्ने भ्रम नपाल्न आग्रह गरे । नेकपाको अर्को खेमाले गरेको हल्लाजस्तो चुनाव अनिश्चित नभएको र निर्धारित समयमै चुनाव गराउन सरकार लागि परेको पनि ओलीले ठोकुवा गरे।
उनले विराटनगरको सभामा उपस्थित भएका कार्यकर्तालाई हौसाउँदै जनता परिवर्तनको पक्षमा भएको बताए । आफूले नजिते पुनः स साना दलहरु मिलेर यसअघि बने जस्तो अस्थिर सरकार हुने भन्दै चुनावबाट आएको फ्रेस म्याण्डेटले ५ वर्ष ढुक्क सरकारले चलाउने र आफ्नो पार्टीलाई नै जनताले रोज्नेमा आफु विश्वस्त रहेको पनि बताए ।
उनले विराटनगरको विराट नर्सिङ होमको नजिकै भएको सभामा उपस्थित जनतालाई भने,‘आजको सभालाई क्यामेराले पनि कैद गर्न सक्दैन । उ त्यो ड्रोनले पनि सक्दैन ।’ उनले आकाश तिर हेर्दे अर्धचन्द्रमालाई देखाउँदै थपे,‘विराटनगरका विभिन्न चौकमा लगाइएको माइक र एलइडी स्क्रिन हेरिरहेका जनतालाई एकै पटक हेर्न र आकाशको चन्द्रमाले मात्रै भ्याउँछ ।’
यसअघि ओलीले प्रचण्ड र माधव नेपाललाई ब्यँग्य हाने । उनले नेपालप्रति कटाक्ष गर्दै भने,‘अध्यक्ष चाहिने भए निर्वाचनमा जीत्नुपथ्र्यो । निर्वाचन आयोगले अध्यक्षमा मलाइ र दाहाल जीलाई मात्र चिन्यो । वहाँ (नेपाल) लाई चिनेनछ । वहाँ खोइ के को अध्यक्ष हुँ भन्दै अझै आसन ग्रहण गर्दैहुनुहुन्छ लाज हुनुपर्ने हो । ’
त्यस्तै प्रचण्डलाई ओलीले सिँग जुरो फुक्लिसकेको गोरुको सँज्ञा दिए । उनले भने,‘पाटी एकता गरेर मैले वहाँ (प्रचण्ड) लाई सिँग पनि र जुरो पनि लगाइ दिएको थिएँ । वहाँको शक्ति यदि बढ्यो कि भनि साध्ये भएन ।’ उनले निर्वाचनमा सानो हैसितमा रहेको दललाई एकता गरेर बराबरी अवस्थामा ल्याउँदा पनि प्रचण्डलाई नफापेको बताए । उनले थपे ‘भिरबाट लड्ने गोरुलाई रामराम पो भन्न सकिन्छ । काँध त थाप्न सकिँदैन नी ।’