इटहरीः मुख्यमन्त्री शेरधन राईले प्रचण्डको गैरजिम्मेवारीपनले पार्टी र प्रधानमन्त्रीलाई बदनाम गराएको आरोप लगाएका छन् । 

नेकपा एमाले इटहरी उपमहानगर कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै राईले ओलीको पछिल्लो निर्णयले अब कम्यूनिष्ट आन्दोलन नयाँ ढंगले अघि बढ्ने ठोकूवा गरे । ‘प्रधानमन्त्रीलाई काम गर्न नदिने, पद, कुर्सी र प्रतिष्ठाका लागि मात्रै राजनिति गरेकाले कम्युनिष्ट कम्युनिष्ट बीच फाटो सिर्जना भएको हो,’मुख्यमन्त्री राईले भने, ‘अब फेरी नेकपा एमाले नयाँ जोशका साथ अघि बढ्नेछ ।’

उनले तत्कालिन माओबादी केन्द्र र नेकपा एमाले एक हुँदा राम्रा कामको कुनै प्रचार नभएको, खाली पद, प्रतिष्ठा र कुर्सीकै लागि मात्रै कुदेकाले आज नेपालको कम्युनिष्ट आन्दोलनमा केही समस्या आएको टिप्पणी गरे । उनले नेकपा एमालेमा तत्कालीन माओबादीका नेताहरु रामबहादुर थापा बादल, मणि थापा, लगायतका नेताहरुको आगमनले एमालेले चालेको कदम अझ सशक्त भएर अघि बढ्ने विश्वास लिएको बताए । ‘वहाँहरु सही विचार र नेतृत्वमा उभिने संकल्पसहित नयाँ जिम्मेवारी सम्हाल्नुभएको छ,’राईले भने,‘ओलीले लिनुभएको नेतृत्व नै आजको आवश्यकता हो । दृढ संकल्प लिएर अघि बढ्न म सबैलाई आव्हान गर्दछु ।’ 

पार्टीले सुर्य चुनाव चिन्ह पाएको भन्दै जनताको मन जीतेर अघि बढ्ने राईले बताए । ‘कतै अलमलिनुपर्ने आवश्यकता छैन । जनताको माझमा पुगेर इमान्दारपूर्वक काम गर्नुपर्छ । जनता हाम्रो साथमा छन्,’उनले भने ।