धरान: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने अवसर हुँदा पनि किन नबनेको होला ? यो प्रश्नको जवाफप्रति राजनीतिकर्मी र आम जनतालाई पनि अत्यधिक चासो छ । सञ्चारकर्मीहरुले पनि उनलाई यही प्रश्न तेस्र्याइरहन्छन् । जसले गर्दा यो प्रश्नले निक्कै चिढिएका छन् ।
मंगलबार धरानमा नेपाल दलित संघद्वारा आयोजित कार्यक्रममा आउदै गर्दा विराटनगरमा पनि सञ्चारकर्मीहरुबाट यही प्रश्न तेर्सियो । त्यहाँ उनी निक्कै झोक्किए । तर, धरान भने उनले यो प्रश्नको जवाफ दिए । देउवाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार बहुमतको भएको बताए । उनले अदालतको आदेश पछि नेकपा दुई वटा पार्टी एमाले र माओवादी केन्द्रमा विभाजित भएपनि प्रचण्डले सरकारको समर्थन फिर्ता नलिएकोले बहुमतको संयुक्त सरकार नै भएको बताए । ‘एउटा पार्टी सरकारमा छ, अर्को पार्टीको समर्थन छ,’देउवाले भने,‘प्रचण्ड जीले समर्थन फिर्ता लिनु भएकै छैन, त्यसैले यो अहिले संयुक्त सरकार भयो । संयुक्त सरकार भनेपछि बहुमतको सरकार भयो ।’
प्रधानमन्त्री ओलीको बहुमतको सरकार भएकोले कांग्रेसले चाहदैमा नयाँ सरकार गठन नहुने उनले बताए । देउवाले प्रधानमन्त्री किन नखाएको भनेर प्रश्न गर्नेहरुले ओलीको बहुमतकै सरकार भएको बुझ्न पनि आग्रह गरे । उनले भने,‘जबसम्म बहुमतको सरकार छ, तबसम्म कांग्रेसले प्रतिपक्षीको भुमिकामा रहने हो । देशभर संगठन विस्तार गर्दै जाने हो ।’