धरान: धरान उपमहानगरपालिकाले कार्यपालिका सदस्य एवं नगर खेलकुद विकास समितिका संयोजक स्वर्गीय सुवास राईको स्मृतिमा शोकसभा गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।
उपमहानगरपालिकामा सोमबार शोकसभा आयोजना गर्दै मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, शिक्षा तथा खेलकुद महाशाखा प्रमुख एवं निमित्त कार्यकारी अधिकृत रत्न कट्वाल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र खेलकुदकर्मीहरुले स्वर्गीय राईको तस्विरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । मेयर राईले कार्यपालिका सदस्य एवं नगर खेलकुद विकास समितिका संयोजक स्वर्गिय राईको असामयिक निधनले धरानलाई ठूलो क्षति पुर्याएको बताए ।
मेयर राईले राजनीतिक, सामाजिक तथा खेलकुद विकासको क्षेत्रमा स्वर्गीय राईको अतुलनीय योगदान रहेको बताए । साथै, धरानको खेलकुद क्षेत्रमा स्वर्गीय राईको अभाव खड्किरहने मेयर राईको भनाई थियो । शोकसभामा उपमेयर, राजनीतिक दलका नेता, वडाध्यक्षहरु र खेलकुदकर्मीहरुले धरानमा स्वर्गिय राईले गरेको योगदानको बारेमा चर्चा गरेका थिए ।
वि.सं. २०२४ असार ८ गते मलेसियामा जन्मिएका राईको वि.सं. २०७८ साउन २२ गते निधन भएको हो । स्वर्गीय राई धरानको वडा नम्बर १७ मा २०४९ र २०५४ सालमा एमालेबाट वडाअध्यक्षमा निवार्चित भएका थिए । उनी गोधुली क्लबको संस्थापक हुन् भने धरान फुटबल क्लबका पुर्वअध्यक्ष पनि हुन् ।