विराटनगर: मोरङको कटहरी गाउँपालिका २ कदमगाछिस्थित बाँसघारी नजिक खेतमा हातखुट्टा बाँधेको र मुखमा कपडा कोचिएको अर्धचेत अवस्थामा भेटिएकी युवतीलाई जर्बजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ परेका आरोपीलाई जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका वडा नं। २ का २० बर्षीय महमद रमजान, १९ बर्षीय सुनिल कुमार साह र भारत विहार राज्य अररिया जिल्ला कुसकिट्टा ग्राम पंचायत वडा नं। ९ हस्तचोक घर भएका १८ बर्षीय महमद गुल्जर रहेका छन् । 

घटना पुष ९ गतेको हो । बिहान करिब साढे ४ बजे घर पछाडिको जुडी खोलामा शौच गर्न गएको समयमा आरोपितहरुले जर्बजस्ती अपहरणको शैलीमा लगेर करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

पीडितलाई एक जनाले पछडीबाट मुख छोपि हामीसँग जाउँ भनेर सिटी सफारीमा राखेर घरबाट अन्दाजि ३ किलोमिटर उत्तर- पूर्व बाँसघारीमा पुर्याएर जबरजस्ती करणी गरेको खुलेको छ । करणीपछि कालो सारीको कपडाले हात र खुट्टा बाँधि मुखमा समेत कपडा कोचेर सोही अवस्थामा छोडेर आरोपीहरु फरार भएको खुलेको छ । पक्राउ परेकाहरुलाई अपहरण, शरीर बन्धक राखेर ज्यान मार्ने उद्योग गरी जर्बजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।