विराटनगर: नेकपा एमाले मोरङमा माधवकुमार नेपाल पक्षको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ ।
शनिबार मोरङको सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रबीर राईको अध्यक्षतामा गठन भएको सिंगो समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो । नेकपा एमालेभित्र विवाद चरम उत्कर्षमा पुग्दै गर्दा मोरङमा ३२५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो । अहिले एकीकृत समाजवादीले वडा तहसम्म गठन भएका समानान्तर कमिटीलाई पार्टीमा समाहित गर्दै सांगठनिक गतिविधि तीब्र बनाएको छ ।
शनिबार सुन्दरहरैंचामा बसेको जिल्ला कमिटीको बैठकले जिल्ला पदाधिकारीहरुको जिम्मेवारीसमेत बाँडफाँड गरेको छ । कमिटीका अधिकांश सदस्य उपस्थित भएको पूर्ण बैठकले दुई उपाध्यक्ष, सचिव, दुई सहसचिव र आर्थिक विभागका प्रमुखसमेतको जिम्मेवारी टुंगो गरेको हो । एकीकृत समाजवादी मोरङले डा.उद्धव पोखरेललाई मोर्चा विभाग प्रमुख, राजन केसीलाई संगठन विभाग प्रमुख, चण्डी राईलाई स्कुल विभाग प्रमुख, निलम ढुंगेललाई श्रम तथा रोजगार विभाग प्रमुख र वसिम आलमलाई प्रचार प्रवक्ताको जिम्मेवारी तोकेको छ ।
पार्टीको बैठकमा आफू निकट रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र वडासदस्यरही जिल्ला कमिटीको जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । बैठकले जिल्लाको १७ वटै स्थानीय तह र सबै वडाहरुमा पार्टीको भेला आयोजना गरी कमिटीहरुलाई पूर्णता दिने र जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको छ ।
शुक्रबार मात्र नेकपा एकीकृत समाजवादीले विराटनगर महानगर कमिटीको भेला आयोजना गरेर समानान्तर कमिटीलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको थियो । साथै महानगर कमिटीका पदाधिकारीहरुलाई जिम्मेवारी तोक्ने निर्णय गरेको थियो । महानगर कमिटीले सबै वडाहरुमा भेला आयोजना गरी कमिटी निर्माणको कामलाई तीब्रता दिने जनाएको छ ।