धरान: पाच उपथरी याक्थुङ लिम्बुहरुले धनकुटाको भेडेटार र ताप्लेजुङको थेचम्बुमा चुम्मालुङ (मिलन ढुङ्गा) गाडेर दुवो ढुङ्गोलाई साक्षी राख्दै अवदेखि एउटै बंशको दाजुभाइ भएको सामुहिक घोषणा गरेका छन् । 

चासोक तङ्नामको अवसर पारेर पाँच उपथरी याक्थुङ लिम्बुहरुले आफुहरुको पुर्खा एउटै भएको तथ्य र इतिहास फेला पारे पछि मिलन ढुङ्गा गाडेर एकै रक्तको सन्तान भएकाले दाजु भाई भएको घोषणा गरेका हुन् । चुम्मालुङ (मिलन ढुङ्गा) गाडेर एक हुने पाथ उपथरीहरुमा खिम्दिङ, उसुक, फालेछुवा, मेन्याङ्बो, आङ्बुहाङ रहेका छन् । उनीहरु सवैको पुर्खा थिन्दोलुङ खो?याहाङ हुन् । 

स्वदेशी र विदेशी इतिहाकारहरुले प्राचीनकालमा पुर्वमा शासन गर्ने आठ राजा (येत्हाङहरु) र दश राजा (थिबोङ याक्थुङहरु) मध्ये थिन्दोलुङ खो?याहाङले याङवरक क्षेत्रमा शासन गरेको उल्लेख गरेका छन् । हाल ३२ औं पुस्तामा चलिरहेको थिन्दोलुङ खो?याहाङको समय करिव ९ सयबर्ष अघिको मानिएको थिन्दोलुङ खो?याहाङ बंशज संघका केन्द्रीय अध्यक्ष दीपक मेन्याङ्बोले बताए । 

उनले भने, ‘याक्थुङ लिम्बुको बंश रक्त एउटै हो होइन भनेर थाहा पाउनका लागि मुन्धुमी परम्पराअनुसारको माङ्गेना यक र मिङ्श्रा हुन्छ । यो भनेको एक प्रकारको गोत्र जस्तै हो । पछिल्लो समयमा हामी पाच उपथरी लिम्बुहरुको माङ्गेना यक र मिङ्श्रा (उत्पती थलो) एउटै भएको पत्ता लागेपछि थिन्दोलुङ खो?याहाङलाई पहिलो पहिलो पुस्ता (पुर्खा) मानेर वीचमा छुट्टै भएर बसेपनि अहिले एकै भएको घोषणा गरेका हौं ।’

उनकाअनुसार थिन्दोलुङ खो?याहाङको बंशावलीमा सातौं पुस्ताका देदेहाङका केहि सन्तानहरु ताप्लेजुङको नाङखोल्याङ क्षेत्रमा बसोबास गर्दै खिम्दिङ थरमा परिणत भए । दशौं पुस्ताका एरुहाङका सन्तानहरु खोक्लिङ क्षेत्रमा गएपछि उसुक बने । बाह्रौं पुस्ताका एरोहाङका केही सन्तान धनकुटाको चौबिस क्षेत्रमा आएर फालेछुवा थरमा परिणत भए । त्यस्तै तेह्रौं पुस्ताका लाहाङका सन्तान थेचम्बूमा नै राजकाज गरेर बसेकाले उनीहरु मेन्याङबो भए । कान्छा भाइ नामहाङ नेसुम चाँगे क्षेत्रमा गएर आङबुहाङ थरमा परिणत भएको इतिहास छ । 

IMG_3858

याक्थुङ लिम्बुहरुो मुन्धुमी परम्पराअनुसार छुट्टिन्दा वा सिमाना कायम गर्दा सेम्मालुङ गाड्ने र एक हुदा चुम्मालुङ गाड्ने चलन रहेकाले सोही नितिलाई पच्छ्याउदै थोदिङ्ग ताङसाङ सावारोहाङ हुँदै थिन्दोलुङ खो?याहाङ पछिको वंश पिँढी खिम्दिङ्ग, उसुक, फालेछुवा, मेन्याङ्बो, आङबुहाुङ एकठाउँ भएको वंशको सन्देश दिन चुम्मालङ स्तम्भ कायम गरेको आङबुहाङ समाजका अध्यक्ष प्रशुराम आङबुहाङले बताए । 

प्राध्यपक ध्रुब मेन्याङ्बोकाअनुसार लिम्बु भाषाा चुम्मा भनेको भेला हो भने लुङ भनेको ढुङ्गा हो । चुम्मा र लुङ मिलेर बनेको शव्द चुम्मालुङबाटै याक्थुङ लिम्बुका ज्येष्ठ वा भद्रभलाद्मी बुद्धिजिवि (तुम्याहाङ) को भेलालाई चुम्लुङ शव्दको व्युत्पती भएको हो । उनले भने, ‘तिनै तुम्याहाङको विषेश भेलाले पक्ष विपक्षका कुरा सुनेर न्याय निसाफ गर्ने र त्यसपछि साक्षी प्रमाणकालागि लामो ढुङ्गा गाड्ने चलन अझै पनि गाउघरमा छ । यसैको ऐतिहासिक निरन्तरता हो यो चुम्मालुङ ।’ 

ताप्लेजुङ, पाचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, ललितपुर, काठमाण्डौ, भक्तपुर, हङ्कङ, बेलायत र अमेरिकालगायत मुलुकमा बसोबास गरिरहेका पाचै उपथरीका प्रतिनिधि परिवार करिव एकहजार जनाको भेलाका वीच चुम्मालुङ गाडिएको थियो । विभिन्न कालखण्डमा छुटिएर वेग्लै थरले चिनिएपनि अवदेखि भने कुनै पनि वैवाहिक सम्बन्ध नगासी एकै बंश भएर आपसी सहयोग गर्ने निर्णय समेत गरिएको तुम्याहाङ मुन्धुविद लक्ष्मण मेन्याङ्बोले बताए । उनकाअनुसार कुनै कालखण्डमा छुटिएर गएका दाजुभाई वीच रक्त सम्बन्ध केलाउदै एकै भएको याक्थुङ लिम्बु समुदायमा यो पहिलो घट्ना हो । 

समाजका तर्फबाट खिम्दिङबाट कुमार खिम्दिङ, उसुकबाट यामबहादुर उसुक, फालेछुवाबाट तेजबहाुदर फालेछुवा र मेन्याङ्बोबाट दीपक मेन्याङबोले संयुक्त घोषणा गरेका थिए । चुम्मालुङको अनावरण पुर्व भुमिसुधार मन्त्री रामकुमार मेन्याङ्बो र प्राध्यापक ध्रुबकुमार मेन्याङबोले गरेका थिए ।