धरानः सुख्खा मौसम सुरु भएपछि धारामा पानी नआउँदा धरान–११, पृथ्वी चोकका अम्बर श्रेष्ठलाई दैनिक खानेपानीको चिन्ताले सताउँथ्यो । कहिले छिमेकीसंग माग्नु पर्ने, मोटरसाइकलबाट ओसार्नु पर्ने सुनाउँदै उनले भने ‘धारामा पानी आउन थालेपछि अहिले चिन्ता मुक्त भएँ ।’

कोकाह खोलाको पानी आएपछि अहिले उनको धारामा दिनको ३ पटक पानी आउँछ । उनले भने ‘कोकाहको पानी आएपछि पानीको दुःख छैन, दिनको ३ टाइम पानी आउँछ ।’ पहिले मोटरसाइकलबाट ओसारेर खानु परेको उनका छोरा सुमन श्रेष्ठले सुनाए । भने ‘तल देवीथानमा पानीको मुहान छ, त्यहाँबाट बाइकबाट बोक्यौ नी ।’ 

अम्बरको भन्दा फरक छैन, मेघबहादुर दमाईको भनाई पनि । अहिले खानेपानीको समस्या नभएको सुनाउँदै भने ‘दिनको ३ पटक आउछ पानीको दुःख छैन, मेयरले यो चै राम्रो गरिदिनुभयो ।’ कोकाहबाट ल्याइएको पानीले केही वडाबासीलाई थोरै भएपनि राहत मिलेको धरान–११ का जनप्रतिनिधि कुमार विश्वकर्मा बताउँछन् । 

उनी थप्छन् ‘मगलबारे चोकदेखी धरान–१६ को सिमाना जोरसखुवासम्म पानीको समस्या छ ।’ धरान–१६ समि चोककी कल्पना मोक्तान पनि पानीको समस्याबाट मुक्त छिन् । अभाव खेप्नु नपरेको उनी बताउँछिन् । सुख्खयाम सुरु भएपछि दिन विराएर आउने पानी नआउँदा कपडा धुन, नुहाउन आफन्तको पुग्नुपर्ने बाध्यता थियो । यस पटक दिन विराएरै भएपनि राम्रै पानी आइरहेको उनी बताउँछिन् ।

ambar sth

कोकाहको पानीले ठुलो सहयोग पुगेको खानेपानी बोर्डका एक कर्मचारीले बताए । कोकाहको पाइप जल्दा पानी आएन त्यो बेला पानी नपुगेर मान्छेहरु खानेपानी बोर्ड घेर्न पुगेका थिए । धरान–११ विष्णु चोक (रेल्वे सवसिस्टम)ट्याङकीमा संकलन हुने कोकाहको पानीले धरान–११ र १७ मा सहज भएको स्थानीयको भनाई छ ।  

गतः साता वडा  १ का अध्यक्ष यज्ञमनी आचार्य सहित स्थानीयहरु पानी माग्र्दै मेयर साम्पाङको कार्यकक्षमा पुगेका थिए । उनीहरुसग मेयर साम्पाङको चर्काचर्की नै पर्यो । खानेपानी बोर्डले ट्याङकरबाट पानी वितरण गरिरहेको छ । खडेरीका कारण पानीको स्रोत घट्दा समस्या भएको मेयर सम्पाङ बताउँछन् । फेसबुकमा उनले लेखे ‘म आउनु अघि असोज देखी पानीको अभाव हुन्थ्यो, दिन विराएर पानी आएको छ, कतै दुई दिन विराएर पनि दिनुपरेको छ ।’ 

प्रेसर नपुग्ने उकालो ठाउँहरुमा निःशुल्क ट्याङकरबाट वितरण गरिरहेको उनी बताउँछन् । ‘प्रेसर नपुग्ने उकालो ठाउँहरुमा ट्याङकरबाट निःशुल्क दिएका छौं ।’

जनगणना २०७८ का अनुसार धरानको कुल जनसख्या १ लाख ७३ हजार ९६ रहेको छ । जसमा घर सख्या ३४ हजार ८ सय १४ रहेको छ भने परिवार सख्या ४३ हजार ८ सय १५ रहेको छ । धरानमा दैनिक ३ करोड लिटर पानीको आवश्यकता पर्ने अध्ययनले देखाउँछ । 

तर, धरानमा दैनिक १ करोड ६७ लाख लिटर मात्र पानी आउने गरेको धरान खानेपानी व्यावस्थापन बोर्डका कार्यकारी निर्देशक बरिष्ठ इन्जिनियर राजु पोख्रेलले बताए । उनका अनुसार खानेपानीको मुख्य स्रोत जलाधार (सर्दु र खर्दु) बाट दैनिक १३ लाख लिटर, भुमिगत पानी दैनिक १ करोड ५० लाख लिटर र कोकाह खोलाबाट दैनिक ४ लाख लिटर पानी संकलन भइरहेको छ । भुमिगत पानी चारकोसे जंगलमा १० वटा र कुम्भि आहलमा ३ वटा गरी १३ वटा रहेको बोर्डले जनाएको छ ।

पकुवा अभियानको सुरुवात

pakuwa1 1

मेयर साम्पाङले ‘धराने जनतालाई जसरी पनि पानी खुवाउँछु ।’ भनि चुनाबी बाँचा गरे अनुसार निर्वाचित भए लगत्तै पकुवा खोलाबाट पानी ल्याउने योजना लागे । श्रमदानबाटै पकुवाखोलाबाट पानी ल्याए । लगत्तै सर्दु, खर्दु, निसाने, भालुखोला र कोकाह खोलाबाट पानी ल्याएर खानेपानीको समस्या समाधानको प्रयास गरेपनि पूर्णरुपमा सफल हुन बाँकीनै छ ।

मेयर साम्पाङ दिर्घकालिन खानेपानी समस्या हल गर्न सप्तकोसी कै पानी ल्याउनुको विकल्प नरहेको बताउँदै भन्छन् ‘कोसी पानी आउन केही वर्ष लाग्छ, त्यसैले सहतको पानी त्यतीकै खेर गइरहेको छ, संकलन गरेर थोरै भएपनि सहयोग हुन्छ ।’ उनका अनुसार भुमिगत पानी बढी खर्चिलो छ, मोटर चलाउनु पर्छ, मोटर विग्रन्छ बनाउनु पर्छ । विजुली विल आउँछ ।’ 

पकुवा खोलाबाट पानी ल्याउन मेयर साम्पाङले जनश्रमदानमा आउन अपिल गरेका थिए । रावाखोला सेरोफेरो यूके, किरात साम्पाङ राई जुम्लेखा यूके र रेडिम यूकेको आर्थिक सहयोग र व्यापक जनश्रमदानबाट दुई वटा फिल्टर टेङकी निर्माण गरेर कुल १ं८ लाख ६० हजार ३१४ रुपैयाँको लागतमा खानेपानी ल्याएका थिए । 

सर्दु, निसाने खोला

nisane

सर्दु, खर्दु र निशाने खोला धरानको खानेपानीको मुख्य प्राकृतिक स्रोत हो । पकुवा खोलाबाट पानी ल्याएपछि मेयर साम्पाङ दोस्रो अभियान सर्दु, खर्दु, निसाने र तामाखाम खोलामा लागे । श्रमदानसहित कुल ३ करोड ४० लाख रुपैयाँ लागतमा पाइप, २ लाख ३७ हजार लिटर क्षमताको ट्याङकी निर्माण गरिएको खानेपानी बोर्डले जनाएको छ । 

स्वदेश तथा विदेशबाट दाताहरुको आर्थिक सहयोगमा १ करोड ८० लाख बढीको पाइप खरिद गरिएको थियो । जनश्रमदान, गोर्खा पिस फाउण्डेसन यूके र हर्क साम्पाङ सपोर्ट कमिटि यूकेको आर्थिक सहयोगमा निसाने दोभानमा कुल ं८९ लाख ४२ हजार ६ सय १२ रुपैयाँको लागतमा ट्याङकी बनेको बोर्डले जनाएको छ । श्रमदान ट्याङकी नाम दिइएको ट्याङकीबाट ४किमि दुरीमा १० इन्चको प्लाष्टिक पाइपबाट धरान–११ स्वास्तिका चोक ट्यांकीमा पानी संकलन गरिएको छ ।

भालुखोलामा धन्यबाद ट्याङकी 

dhanyabad

मेयर साम्पाङले पानीको स्रोत जुटाउने क्रममा धरान–४ भालुखोलाबाट खानेपानी संकलन गरेका छन् । कुल १ करोड ६७ लाख बढीको लागतमा श्रमदानसहित योजना पुरा भएको धन्यवाद भालुखोला खानेपानी ट्याङकी निर्माण समितिका सदस्य दत्त लिम्बुले बताए । उनका अनुसार एक करोड ३६ लाखको लागतमा ३ किमी पाइप विस्तार, ३१ लाख ३९ हजार६३४ रुपैयाँको लागतमा सेउती खोला छेउमा एक लाख २३ हजार लिटर क्षमताको ट्याङकी निर्माण गरिएको हो ।

मेयर साम्पाङ चर्चाको शिखरमा 

मेयर साम्पाङले ४२ किलोमिटर दुरीबाट पानी ल्याएर धरानबासी मात्र हैन स्वदेश तथा विदेशमा चर्चाको विषय बन्यो । भौगोलिक रुपमा अति विकट मानिएको बराहक्षेत्रको कोकाह खोलाबाट पानी ल्याउन सहज पक्कै थिएन । तर, मेयर साम्पाङ ल्याएरै छाडे । 

जनश्रमदानबाट ९८ दिनमा धरानमा पानी ल्याएपछि मेयर साम्पाङको चर्चा चुलियो । मेयर साम्पाङलाई ‘वल्ड बुक रेकर्डस लण्डन’ले कदर पत्रले सम्मानित ग¥यो । कुल ६ करोड ७८ लाख ९ सय ६४ रुपैयाँको लागतमा योजना सम्पन्न भएको निर्माण समितिले जनाएको छ । 

समितिका अनुसार स्वदेश तथा विदेशका दाताहरुबाट ४ करोड ८२ लाख ५२ हजार ३५ रुपैया नगद सहयोग संकलन भएको थियो । दाताहरुले नै १ करोड २० लाख ३८ हजार ७०४ रुपैया बराबरको पाइप सहयोग गरेका थिए । 

खानेपानी बोर्डबाट ६६ लाख ५१ हजार २२० रुपैयाको पाइप प्राप्त भएको समितिले जनाएको छ । हाल, कोकाहबाट दैनिक ४ लाख लिटर पानी आइरहेको बोर्डका कार्यकारी निर्देशक बरिष्ठ ईन्जिनियर राजु पोख्रेलले बताए । उनले भने ‘कोकाहबाट दैनिक ४ लाख लिटर पानी आउँछ, सुख्खा मौसममा पनी कोकाहबाट पानी आइरहेको छ ।’

सर्दु, खर्दुको मुहान सुधार 

khardu project3

धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्रको मुहान क्षेत्र सुधारको काम भएको छ । गोर्खा वेल्फेयर ट्रष्टले सु्धारको काम गरिदिएको हो । ट्रष्टको ३ करोड १२ लाख ४७ हजार २ सय ४६ रुपैयाँको लगानीमा मुहान क्षेत्रको स्तरोन्नतीको काम गरिएको बोर्डका कार्यकारी निर्देशक पोख्रेलले बताए । 

सुधारको काम भएपछि पानीको सर्कुलेसन र क्यापासिटीमा बृद्धि भएको उनले भनाई छ । उनका अनुसार आयोजनाले ४ वटा इन्टेक निर्माण, ४ वटा कलेक्सन च्याम्बर, फ्लकुलेटर ट्यांकीको क्षमता ६० लाख लिटरबाट अपग्रेड गरेर ९० लाख लिटर बनाइएको छ । र्यापिड स्याण्ड फिल्टर पनि स्तरोन्नती गरेर १ करोड ६० लाख लिटरबाट २ करोड पुर्याइएको छ । २ वटा क्रसिङ, वास आउट भल्व १ वटा, एयर भल्व २ वटा र पाइप लाइन २३४९.९० मिटर निर्माण भएको निर्देशक पाख्रेलले बताए । 

सतहको पानीमा जोड 

खेर गइरहेको खोल्सा, खोल्सीको पानी संकलन गरेर पानीको स्रोत बढाउने काम गरिएको खानेपानी बोर्डका कार्यकारी निर्देशक पोख्रेल बताउँछन् । ४२ किलोमिटर टाढाबाट ल्याइएको कोकाह खोलाको पानी अहिले सुख्खा मौसममा पनि आइरहेको छ । अन्य, पकुवा, निसाने खोला, भालुखोलालगायतका स्रोतबाट संकलन गरिएको पानी चै अहिले सुख्खा मौसममा छैन । 

तर, वर्षातको समयमा हुने खानेपानीको अभावमा महत्वपूर्ण सहयोग पुग्ने मेयर साम्पाङको भनाई छ । बोर्डका अनुसार हाल कोकाह खोलाबाट दैनिक ४ लाख लिटर पानी आउने गरेको छ । पकुवा खोलाबाट वर्षातको समयमा ५ लाख लिटर, भालुखोलाबाट वर्षातको समयमा दैनिक २ लाख ५० हजार लिटर पानी आउने जनाएपनि अहिले सुख्खा लागेको पोख्रेल बताउँछन् । 

वितरण प्रणालीमा समस्या

khanepani1

धरानमा पानीको समस्या हुनुको एउटा मुख्य कारण वितरण प्रणाली पनि हो । धरानको भू–बनावटको कारण पानीको पे्रसर नपुग्दा उपभोक्ताहरुले पानीको समस्या भोग्नु परिरहेको धरान खानेपानी व्यावस्थापन बोर्डका कार्यकारी निर्देशक पोख्रेल बताउँछन् । 

विस्तार गरिएका पाइप तथा भल्भहरु पूरानो भएको कारण पनि समस्या थपिएको उनी बताउँछन । पुरानो संरचनाको नक्सा नभएको र पाइप सडकको विचबाटोमा भएकोले मर्मत गर्न गाह्रो हुने कारण पनि वितरणमा समस्या भएको पोख्रलको भनाई छ । पोखे्रल भन्छन् ‘भू–बनावट, पाइप तथा भल्वहरु पुरानो, पुरानो संरचनाको नक्सा छेन, पाइप बिचबाटोमा भएर मर्मत गर्न गाहे भएकोले पनी वितरण प्रणालीमा समस्या छ ।’ 

धरानमा पानीको माग अनुसार आपुर्ती नहुदा पनि वितरण प्रणालीमा समस्या भएको बताए । धरानमा दैनिक ३ करोड पानीको आवश्यकता पर्ने अध्ययनले देखाउँछ । तर, धरानमा अहिले करिब १ करोड ६७ लाख लिटर पानी आपुर्ती भइरहेको पोख्रेल बताउँछन । उनी भन्छन् ‘माग अनुसार पानी आपुर्ती नहुँदा वितरण प्रणालीमा असर पुगेको छ ।’

धरानमा खानेपानी व्यवस्थापन बोर्डका वाहेक ८० भन्दा बढी खानेपानी उपभोक्ता समितिले खानेपानी वितरण गरिरहेका छन् । जसमध्ये वडा १३ मा मात्र १० वटा उपभोक्ता समिति छन् । 

चुनौती 

श्रमदानमार्फत खानेपानीको स्रोत संकलनमा लागेका मेयर सम्पाङको कामको आलोचना भइरहेको छ । नागरिकको लगानीमा निर्माण भएका भौतिक संरचनाहरु दिर्घकालिन नहुने होकी भन्ने प्रश्न धरानको पूर्वजनप्रतिनिधिहरु, बुद्धिजिवीहरु, राजनीतिज्ञहरुसहित सरोकारवालाहरुले उठाउँदै आएका छन् । 

कोकाह खोलाबाट ल्याइएको पानीको पाइप बेला–बेला काटिने गरेको छ । केही दिन अघि कोकाहको पाइप जंगलमा लागेको आगोले क्षती पु¥याउदा ठुलो क्षती मात्र भएन खानेपानी नै अवरुद्ध भयो । कतिपय श्रमदानमार्फत बनाइएका खानेपानीका संरचनामा सुख्खायाममा पानी नै नआएको पनी छ । हो, यही विषयले मेयर साम्पाङको आलोचना पनि भइरहेको छ । 

दिर्घकालिन सोच विचार नगरी हचुवाको भरमा बनाइएका भौतिक संरचनाहरु प्रयोगविहीन हुनेमा निवर्तमान मेयर तिलक राई संङका व्याक्त गर्छन । उनी भन्छन् ‘७ करोड खर्च गरेर कोकाहबाट पानी ल्याउनु भयो, खै त्यसले धरानको खानेपानीको आवश्यकता पूरा भयो त ?’ 

मेयर साम्पाङमा काम गर्ने हुटहुटी हुनु राम्रो कुरा भएपनी विज्ञसंग सुझाब नलिई, डिपिआर विना काम अगाडी बढाउँदा समस्या हुने उनी सुझाब दिन्छन । ‘सम्बन्धित विज्ञसं परामर्श गर्नुस्, डिपिआर तयार गरेर काम अगाडी बढाउनुस, कानुनी बैधताको कुराहरु हुन्छन् यी सबलाई ख्याल गरेर काम गर्नुपर्छ ।’ उनी भन्छन । 

कोकाहको पाइप जल्दा आरोप प्रत्यारोपमा उत्रनु परिरहेको सदन्र्भमा निवर्तमान मेयर राई भन्छन् ‘आफ्नो थैली दहे बाध्नु अरुलाई चोर नलगाउनु, प्लाष्टिकको पाइप २/३ फिट गाडेर ल्गाएको भए सिकिजान्थो यस्ता कुरामा ध्यान दिनुप¥यो ।’  

मेयर साम्पाङ भने दिर्घकालिन रुपमा प्रयोगको लागि नै काम भइरहेको बताउँछन् । उनि भन्छन् ‘कोसीबाट पानी ल्याउने भन्ने आयोजनाको प्रक्रिया सुरु हुदैछ, अब तत्कालको खानेपानीको आवश्कता पूरा गर्न कम खर्चिलो रुपमा सहतको स्रोत जुटाउने काम भइरहेको हो ।’ 

भुमिगत पानी निकाल्दा वाताबरणमा इकोलोजिकल असर पर्ने र सतहको पानी धेरै राम्रो हुने उनी बताउँछन् । भुमिगत पानी बदी खर्चालु भएको उनको बुझाई छ । उनी भन्छन् ‘भुमिगत पानी तान्दा इकोलोजीकल असर पनि पर्छ, अर्को कुरा कहिले पम्प विग्रने, विजुली पनि धेरै खपत गर्ने रैछ, सहतको पानी ल्याएर विल खपतमा कम आएको छ, मैले खर्च घटाएको छु ।’ 

कोकाह–२ नयाँ योजना

kokaha 1

मेयर साम्पाङले खानेपानी समस्यालाई मध्यनजर गरी कोकाह–२ आयोजना सुरु गरेका छन् । केही दिनयता श्रमदानमार्फत मुहानबाट पाइप जडानको काम भइरहेको छ । धरान–१३ स्थित सर्दुखोला किनारमा करिब ६० लाख बढी क्षमताको रिजर्भवायर ट्याङकीको निर्माण कार्य जारी छ । 

धरानको खानेपानी समस्यालाई समाधान गर्नको लागि डिप बोरिङको काम निर्माणको चरणमा रहेको छ । प्रदेश सरकारको खानेपानी सिचाइ तथा उर्जा मन्त्रालय विराटनगरबाट बजेट विनियोजन गराई धरानको चारकोेसे जंगलमा ३ वटा डिप ट्यूवेल जडान गर्ने काम भइरहेको छ । 

कोसीको पानी ल्याउन बजेट माग 

धरानको खानेपानीको समस्या दिर्घकालिन समाधानको लागि वर्षौदेखी बहस जारी छ । धरानको खानेपानी समस्या दिर्घकालिन समाधानको लागि सप्तकोसीबाट पानी ल्याउन डिपिआरको काम सकिएको मेयर साम्पाङले बताए । डिपिआरको काम सकिएकोले मेयर साम्पाङ मन्त्रालय पुगेर आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिदिन माग गरेका छन । 

मन्त्रालयद्वारा नियुक्त गरिएका विज्ञ टोली तथा प्राविधिकहरु सप्तकोसी पुगेर अध्ययन गरेका थिए । सरकारले कोसीबाट पानी ल्याउन कम्तिमा ५ अर्ब बजेट लाग्ने जनाएको छ । सरकारले आगामी बजेटमा समाबेश गरिदिनको आग्रह गरिएको मेयर साम्पाङ बताउछन ! उनी भन्छन ‘कोसी पानी ल्याउन बजेट माग गरिएको छ, खै अब के गर्छ बजेट दिन्छु भनेको चै छ, हेरौै ।’ 

मेयर साम्पाङले कोसीको पानी अथवा टनेलबाट तमोरको पानी नै ल्याएपनि धरानमा पानीको समस्या भइरहने बताए । जनसंख्या बडेको कारण पानीको माग बडेको उनी बताउँछन् । उनले भने ‘कोसीबाट नै ल्याउँ, अथवा टनेलबाट तमोरको पानी नै ल्याएपनि धरानमा पानीको समस्या हट्दैन ।’

कोशी वा तमोरबाट टनेलमार्फत तमोरको पानी ल्याउने जुन उपयोगी हुन्छ त्यो ल्याउन पहल गर्नुपर्ने प्रदेशसभा सदस्य विजय राई बताउँछन् । ‘धरानको खानेपानी समस्या समाधानका लागि कोसीको पानी ल्याउदा अथवा तमोरको पानी ल्याउने कुन बहुउपयोगी हुन्छ, छलफल गर्नुपर्छ ।’ 

धरान–लेउती सुरुङ मार्ग खोलेर तमोरको पानी ल्याउन सके उपयुक्त हुने प्रदेश सभा सदस्य रमेश बस्नेत बताउँछन् । सुरुङ मार्गको डिपिआर अन्तिम चरणमा पुगेकोले छलफल गरेर योजना अगाडी बढाउँदा दिर्घकालिन हुने उनको भनाई छ । कहाँबाट पानी ल्याउँदा सर्वसुलभ हुन्छ ? त्यतातिर जानुपर्ने बताउँदै उनले भने ‘कोसीबाट ल्याउने भनेको पनी डिप बोरिङ नै हो त्यो अलिक दिर्घकालिन हुदैन भन्ने लाग्छ ।’ 

(धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा लेखनवृत्ति कार्यक्रम अन्तर्गत तयार गरिएको फिचर लेख)