धरान: दीर्घ रोग लाग्नुअघि नै सचेत गराउने उद्देश्यले केएचडिसी संस्थामार्फत समुदायमा स्वास्थ्य सेवा पुर्याउने प्रा.डा.सञ्जिव शर्मा र धरानका पुर्वउपमेयर स्वर्गीय कृष्णनारायण पलिखे सम्मानित भएका छन् ।
लोकलक्ष्मी स्मृति प्रतिष्ठानले शनिबार एक समारोहबीच डा.शर्मा र मरोणोपरान्त स्वर्गीय पलिखेलाई जनही नगद ५१ हजार रुपैयासहित सम्मान गरेको हो । दुवैलाई 'प्रोफेसर इन्द्रप्रसाद विमला श्रेष्ठ धरान सेवा सम्मान'बाट सम्मानित गरिएको हो । पुर्वउपप्रमुख पलिखेको सम्मान उनकी श्रीमति निर्मला श्रेष्ठले ग्रहण गरेकी थिइन् ।
डा.शर्माले केएचडिसीमार्फत समुदायमै पुगेर हजारौं सर्वसाधारणको निःशुल्क स्वास्थ्य परिक्षण गरेका छन् । जसले मृगौला जस्ता दीर्घरोग लाग्नुअगावै धेरैलाई सचेत गराएको छ भने शुरुवाती चरणमा पनि रोग पत्ता लगाएर धेरैले स्वास्थ्यको ख्याल गर्नसकेका छन् । धरानबाट शुरु भएको केएचडिसी अभियानले अन्य जिल्लामा पनि सेवा दिइसकेको छ ।
यस्तै, मरोणोपरान्त सम्मान पाएका स्वर्गीय पुर्वउपप्रमुख पलिखेले धरानको सर्दु जलाधार क्षेत्र संरक्षणको लागि ठुलो योगदान दिएका थिए । उपप्रमुख रहेकै बेला पनि नगरको बेथितीविरुद्ध आवाज उठाउदै पलिखेले पदबाटै राजिनामासमेत दिएका थिए । पछिल्लो समय जलाधार क्षेत्रको जग्गा भुमाफियाले किनबेच गर्न थालेपछि जनसरोकार मञ्च गठन गरेर उनले कानुनी लडाई गरेका थिए । उनकै नेतृत्वमा भएको कानुनी लडाईले अहिले जलाधार क्षेत्र व्यक्तिको कब्जामा हुनबाट जोगिएको छ ।
लोकलक्ष्मी प्रतिष्ठान स्वर्गीय प्रोफेसर इन्द्रप्रसाद श्रेष्ठले २०६४ सालमा आफ्ना मातापिताको नाममा स्थापना गरेका थिए । प्रोफेसर श्रेष्ठको निधन पछि उनको परिवारले प्रोफेसर इन्द्रप्रसाद विमला श्रेष्ठ धरान सेवा सम्मान पुरस्कारको स्थापना गरेर प्रतिष्ठानमार्फत प्रदान गर्दै आएको छ । प्रतिष्ठानका अध्यक्ष एवं प्रोफेसर इन्द्रप्रसाद विमला श्रेष्ठका छोरा रञ्जित श्रेष्ठले प्रतिष्ठानमार्फत बर्षेनी धरानको विकास र सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिने बताए ।
सम्मानित व्यक्तित्व प्रा.डा.शर्माले पहिलो पटक श्रीमति प्रा.डा.बसुधा खनालसँगै एउटा समारोहमा सम्मानित हुन पााएको भन्दै खुशी व्यक्त गरे । साथै उनले पुरस्कार राशी केएचडिसीमै राखेर सर्वसाधारणको उपचारमा खर्च गर्ने पनि घोषणा गरेका थिए । उनले दीर्घ रोगहरु शुरुवातमा थाहै नपाइने भएकोले बेला बेला स्वास्थ्य जाँच गर्न र खानपिन, जीवनशैलीमा धेरै सचेत रहन आग्रह गरेका थिए ।