धरान: धरान उपमहानगरपालिकाले दोस्रो चरणमा वडा नं ९ स्थित गौतम पथ (सब्जी बजार) र पतुलीलाइनमा वान वे लागु गरेको छ । 

आज (आइतबार) बिहानैदेखि उपमहानगरपालिका, जिल्ला ट्राफिक, नगर प्रहरी र वडा कार्यालयबीच सहकार्य गरी वान वे लागु गरिएको हो । मेयर हर्क साम्पाङ आफै पुतलीलाइन पुगेर वान वे लागु भएको घोषणा गरेका थिए । जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवास केसी, वडा नं ९ का अध्यक्ष रुपेश आचार्य, नगरका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा पनि उपस्थित थिए ।

पुतलीलाइनस्थित आइएमई रहेको चोकदेखि पुर्व भानुचोकतर्फ सवारीसाधन जान निधेष गरिएको छ । भानुचोकदेखि पश्चिम पुतलीलाइनतर्फ भने सवारीसाधन जान पाउनेछ । आइएमई चोकदेखि उत्तर गौतमपथ, सब्जीबजार हुदै कलेज रोडतर्फ एकतर्फी मात्र सवारीसाधनलाई जान दिइएको छ । उक्त सडकमा कलेज रोडदेखि दक्षिण गौतमपथतर्फ सवारीसाधन आउन निषेध छ । 

one way putali line

यस्तै, आइएमई चोकदेखि दक्षिण आचार्यलाइन जोडिने शिवप्रकाश मार्ग हुदै भने दुईतर्फी नै सवारीसाधन आउजाउ गर्नसक्छन् । तर, उक्त शिवप्रकाश मार्गमा दुवैतर्फ सवारीसाधन पार्किङ गर्न निषेध गरिएको छ । वडा नं ९ का अध्यक्ष आचार्यले ७ दिनसम्म परीक्षण गर्ने र त्यसपछि थप परिमार्जन गर्नुपर्ने भए गरिने बताए । 

मेयर साम्पाङले ट्राफिक प्रहरी र वडाअध्यक्षसँग धेरै छलफल गरेर अध्ययन प्रतिवेदन अनुसार वान वे लागु गरिएको बताए । उनले साना सडकहरुलाई घर भत्काएर विस्तार गर्ने भन्दा पनि भएको सडकलाई सदुपयोग गर्ने बताए । ‘सडक साना छन्, सडक विस्तार गर्ने नाममा ड्यामकी ड्याम घर भत्काउने तर्फ पनि जादैनौ । जे जस्ता छन्, ती बाटाहरुलाई जतिसक्दो धेरै सदुपयोग गर्नुपर्छ भनेर वान वे उपाय अपनाइरहेका छौं,’ उनले भने ।

one way putaline

विगतमा भानुचोकदेखि उत्तर नयाँ बजार र लक्ष्मीचोकदेखि दक्षिण पुरानो बजारमा वान वे लागु भएको थियो । त्यसबेला शुरुवाती समयमा असहज भएको भन्दै गुनासो आएपनि जाम नहुने र धेरै सहज भएको उनले बताए । ‘सहरी व्यवस्थापनको लागि महत्वपुर्ण हुनेछ । यो क्षेत्रमा धेरै जाम हुने गरेको थियो, अब जामको समस्या हल हुनेछ,’उनले भने ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख केसीले स्थानीयबासीसँगै धेरै छलफल, सल्लाह सुझाव पछि वान वे गर्ने निर्णय गरिएको बताए । गौतमपथ, सब्जी मण्डी क्षेत्रमा अत्यधिक जाम हुने गरेको धेरै गुनासो आएपछि अध्ययन गरिएको उनले खुलाए । ‘पुरानो बजारमा वान वे गर्दा शुरुमा अफ्ठेरो भएको थियो्,अहिले धेरै सहज छ । त्यसरी नै यहाँ जाम नहोस्, समयमा नै गन्तव्यमा पुग्न सकियोस् भनेर स्थानीयकै सल्लाह, सुझावमा रुट बनाएका छौं,’ उनले भने,‘धेरै लामो पनि छैन, ५ सय मिटरको दुरी हो । यो पछि १० नम्बर वडातिर पनि गर्ने योजना छ, हामी त्यता पनि व्यवस्थापन गछौं ।’

भिडियो: