धरान: चुरे दिवसको अवसरमा आइतबार इलामको कमल सामुदायिक वनमा वृक्षरोपण गरिएको छ ।
चुरे उत्थानशील आयोजना र कमल सामुदायिक वनले चुलाचुली–१ स्थित कमल खोला किनारको बाँझो जमिनमा वृक्षरोपण गरेको हो । चुरे पहाडको फेदमा बाँस, अम्बा, अमला, जामुन, लगायतका रैथाने प्रजातिका एक हजार बिरुवा रोपिएको चुरे उत्थानशील आयोजनाले जानकारी दिएको छ । सबडिभिजन वन कार्यालय चुलाचुली, सबडिभिजन वन कार्यालय बेलबारी र डिभिजन वन कार्यालय त्रिवेणी, उदयपुरले सहयोग गरेको कार्यक्रममा विरुवाहरु चुरे उत्थानशील आयोजनाले उपलब्ध गराएको हो ।
आयोजनाका राष्ट्रिय निर्देशक नवराज पुडासैनीले अन्न भण्डार तराई नजोगिए नेपालका सबै मानिसहरुको जीवन र जीविका जोखिममा पर्ने भन्दै चुरे क्षेत्र जोगाउनुपर्नेमा जोडदिए । 'तराइमा नेपालका आधा जनसङ्ख्या बस्छन्, जसले सारा नेपालका लागि अन्न उत्पादन गर्छन्। तराइ जोगिएन भने यी सब मानिसको जीवन तथा जीविका जोखिममा पर्छ। त्यसैले चुरे क्षेत्र जोगाउने हाम्रो प्रतिबद्धता छ,' कार्यक्रमका प्रमुख अतिथि एवं आयोजनाका राष्ट्रिय निर्देशक पुडासैनीले भने ।
पछिल्लो समयमा वनविनाश, नदीजन्य पदार्थको उत्खनन्, लगायतका मानवीय गतिविधिले चुरे क्षेत्रको वातावरण खस्किरहेको छ भने चुरे क्षेत्रमा बाढी, पहिरो आउने, पानीका मूल सुक्ने, नदी कटानले घर भत्काउने र खेतलाई बञ्जर बनाउने लगायतका समस्या बढ्दै गइरहेको स्थानीयवासीको गुनासो छ।
चुरे क्षेत्र जोखिममा परिरहेको बेला वृक्षरोपणले चुरे संरक्षणमा सुधार हुनेमा स्थानीयवासी उत्साहित एवं आशावादी छन् । 'पहिले चुरे क्षेत्रमा पानी थियो। अहिले १०० फिट भन्दा गहिरो बोरिङ गर्दा पनि पानी पाइँदैन,' वडा नं १ का कार्यवाहक वडाअध्यक्ष दालबहादुर चाम्लिङ भन्छन्,'अब हामीले वृक्षरोपण गरेर यो क्षेत्रलाई पहिलेको जस्तो बनाउने कोशिश गर्नुपर्छ। आयातीत प्रजातीले यहाँको उर्वराशक्ति घटाउने हुँदा रूख रोप्दा स्थानीय प्रजाती छान्नुपर्छ ।'
चुरे क्षेत्रको संरक्षण पछिल्लो समयमा नेपाल सरकारको प्राथमिकतामा पर्दै आएको छ । दश बर्ष अगाडि असार २ गतेलाई चुरे दिवस घोषणा गरिएको थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवको पालामा राष्ट्रपति चुरे तराइ मधेस संरक्षण तथा विकास समिति घोषणा गरेर त्यसअन्तर्गत संरक्षणका विभिन्न काम भइरहेका छन्। 'चुरे क्षेत्रको माटो अत्यन्त कमलो छ । पानी नुहँदा ढुङ्गा जस्तो साह्रो हुन्छ, पानी परेपछि गल्छ, अनि बगेर गइहाल्छ,'आयोजनाका कोशी प्रदेश संयोजक राज कुमार गुप्ता भन्छन्,'माटोको संरक्षण गर्न सकिएन भने हामीले उर्वर, मलिलो माटो गुमाउँछौँ । त्यसकारण चुरेको संरक्षण गर्नका लागि एकीकृत भएर लाग्नुपर्ने छ ।'
चुरे उत्थानशील आयोजनाले चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा जलवायु उत्थानशीलको वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्य गर्दै आएको छ । वातावरण संरक्षण तथा जलवायु उत्थानशीलतामा चुरे उत्थानशील आयोजनाको निरन्तर कार्य अन्तर्गत वृक्षरोपण गरिएको हो । चुरे उत्थानशील आयोजनाले आफ्नो कार्यक्षेत्रमा नर्सरी स्थापना तथा वृक्षरोपण गर्दै आएको छ। हाल कोशी प्रदेशमा आयोजनाका ७ वटा नर्सरी रहेका छन् जसमा कूल ४ लाख भन्दा बढी बिरुवा रहेका छन्।
यी बिरूवामा रैथाने प्रजातिलाई प्राथमिकता दिइएको छ, र बिरुवा रोप्न चाहने मानिसलाई यी बिरुवा निःशुल्क वितरण गरिनेछन् । वृक्षरोपण गरेर वनक्षेत्र बढाउँदै लाने योजना रहेको कमल सामुदायिक वनले बताएको छ। ”वृक्षरोपण गरेर हामी वनलाई फेरी हराभरा बनाउन चाहन्छौँ। भविष्रयमा यी बिरूवा हुर्काउने र अझै बिरूवा रोप्ने हाम्रो योजना रहेको छ,” कमल सामुदायिक वनकी अध्यक्ष सङ्गीता थलङले भनिन् ।
चुरे उत्थानशील आयोजना हरित जलवायु कोष (ग्रीन क्लाइमेट फन्ड) ले लगानी गरेको नेपालको पहिलो परियोजना हो। नेपाल सरकारले वन तथा वातावरण मन्त्रालय मार्फत संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोगमा यो आयोजना कार्यान्वयन गर्दै आएको छ । चुरे उत्थानशील आयोजनाले नेपालको मध्य र पूर्वी चुरे क्षेत्रमा जोखिममा रहेका २६ नदी प्रणालीमा काम गर्दछ। यो परियोजनाले आवासीय क्षेत्र र जलक्षेत्र बाहेक ७०२,०११ हेक्टर जमिन समेटेको छ।