धरान: सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीले फरक फरक ठाउँबाट ठुलो परिमाणमा गाजा र ब्राउनसुगर सहित व्यक्तिहरुलाई पक्राउ गरेको छ।

आज साउन १३ गते दिउसो करिब साढे ३ बजे सुनसरीको बबियाबाट ११५.७ केजी गाँजासहित २ जना पक्राउ परेका छन् ।विषेश सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट सशस्त्र प्रहरी सहायक निरिक्षक काशीराम चौधरीको कमाण्डमा खटिएको संयुक्त टोलीले गाँजा र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो । सशस्त्रका अनुसार धनकुटाको साँगुरीगढी गाउँपालिका १ बुढीमोरङका ३२ बर्षीय राम कुमार राई र सोही ठाउँका २२ बर्षीय बुद्ध लिम्बुलाई गाजासहित पक्राउ गरिएको हो । 

इनरुवा नगरपालिका –९ स्थित बबिया चोकबाट प्रदेश नं १–०२–००२ च ६८८३  नम्बरको टाटा गाडीमा लोड गरी सुनसरीको नाका इलाकातर्फ लादै गर्दा गाडीसहित ११५.७ केजी गाजा नियन्त्रणमा लिएको स्शस्त्र प्रहरी वल नेपाल नं ४ गण हेडक्वार्टरले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय सुनसरीमा बुझाइएको पनि सशस्त्रले जनाएको छ । 

ब्राउन सुगर सहित २ जना पक्राउ 

सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका –६ ढलानरोडस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकही मातहत एफ.ओ.पि.ईस्राईल कामत स्थानबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । 

सशस्त्र प्रहरी भुपेन्द्र नेम्वाङ्गको कमाण्डमा खटिएको चेक प्वाईन्ट डिउटी ४ जनाको टोलीले धरान १३ का ४२ बर्षीय जीवन राई र सुनसरी भोक्राहाका २७ बर्षीय महफुज आलमलाई ब्राउन सुगर र ट्याब्लेटसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।

पक्राउ परेकाहरु भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा शंका लागि चेकजाँच गर्ने क्रममा जीवनको साथबाट कालो प्लाष्टिकले बेरेको प्लाष्टिक सहित अन्दाजी ९.४ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ वरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । 

यस्तै, महफुजको साथबाट कालो प्लाष्टिकले बेरेको प्लाष्टिकसहित अन्दाजी १३ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ, १६ ट्याबलेट स्पास्मो, ८ ट्याबलेट निट्रोभेट लागूऔषध बरामद भएको थियो । उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय सुनसरी बुझाइएको नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।

साउन ८ मा पनि १२ केजी गाँजा वरामद

साउन ८ गते दिउसो सुनसरी देबानगजं गाँउपालिका ५ पालटोल सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पी. साहेबगंजबाट ६ केजी गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ । 

सशस्त्र प्रहरी निरीक्षक कृष्ण थापाको कमाण्डमा खटिएको ४ जनाको मोटरसाइकल गस्ती टोलीले नेपालबाट भारततर्फ जादैँ गरेको बिआर ५० वाइ ३४९७ नम्बरको भारतीय मोटर साइकललाई चेकजाँच उक्त परिमाणको गाँजा वरामद भएको हो । चेकजाँचको क्रममा मोटर साइकल चालक फरार भएका थिए । मोटर साइकल र प्रतिबन्धित ६ केजी गाजा नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यलय सुनसरी बुझाइएको पनि सशस्त्र प्रहरीले जनाएको छ । 

यस्तै, साउन ८ गते नै दिउसो सुनसरी भोक्राहा नरसिंह गाँउपालिका ८ सोनियाही सीमा ईलाकाबाट थप ६ केजी गाजा र साइकल बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ। नेपालबाट भारततर्फ जादै गरेको अपरिचित ब्यक्तिले साईकलमा राखी लैजादैँ गरेको ६ केजी प्रतिबन्धित गाँजा सशस्त्र प्रहरी बल,नेपाल बि.ओ.पि. उल्टीबाट खटिएको सशस्त्र प्रहरी सुरेश लिम्बुको कमाण्डको २ जनाको पैदल गस्ती टोलीले बरामद गरेको हो ।

साईकल र गाजाँ छोडेर व्यक्ति फरार भएकोले सो परिमाणको गाजाँ र साईकललाई मात्र नियन्त्रण भएको सशस्त्रले जनाएको छ । गाँजा र साइकललाई बि.ओ.पि.उल्टीमा ल्याई जिल्ला प्रहरी कार्यलय सुनसरी बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।