धरान: मेयर हर्कराज राई (साम्पाङ)को निर्देशनमा धरान वडा नं १३ को खहरेमा ग्याबिन भत्काउन नगर प्रहरीको कमाण्ड गर्ने असई सुरेश मग्राती पनि पक्राउ परेका छन् ।
असई मग्रातीलाई वडा नं १४ स्थित उनकै घरबाट आज बिहान प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवा लगिएको छ । जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नवीनकृष्ण भण्डारीले मंग्राती पक्राउ गरेको पुष्टि गरे । आफु बैठकमा रहेको भन्दै उनले संक्षिप्त प्रतिक्रियामा भने,‘सुरेश मग्राती अहिले प्रहरी नियन्त्रणमा छ, यति मात्र भने ।’
मंग्रातीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएपछि शुक्रबार नै उनलाई पक्राउ गर्न नेपाल प्रहरीको २ जना नगर प्रहरीको कार्यालय रहेको धरान ८ स्थित सभागृह पुगेको थियो । प्रहरी पक्राउ गर्न आएपछि मंग्रातीले मेयर, उपमेयर, राजनीतिक दलका नेताहरु, प्रमुख प्रशासकीय अधिकृत सबैतिर फोन गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले आइतबार आफैले मंग्रातीलाई जिल्ला प्रहरीमा उपस्थित गराउने प्रतिवद्धता जनाएपछि शुक्रबार पक्राउ परेका थिएनन् । तर, आज बिहानै भने उनलाई घरबाटै प्रहरीले पक्राउ गरेर इनरुवा लगेको हो ।
ग्याबिन तोडफोड गरेर क्षति पुर्याएको घटनामा बिहिबार साँझ भारती राई, उनका भाई राजकुमार र श्रीमति पारु भनिने दिलकुमार राईलाई पनि प्रहरीले पक्राउ गरेर इनरुवा लगिसकेको छ । उनीहरुलाई सार्वजनिक सम्पत्ति तोडफोड गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वडा नं १३ को खहरेमा प्रदेश सरकारको बजेटबाट पहिरो नियन्त्रण गर्न ग्याबिन लगाइएको थियो । स्थानीय टोल विकास संस्थाले बैठक बसेर र उपभोक्ता समिति गठन गरेर लगाएको उक्त ग्याबिन खोलाको बीचमा हालेको भनेर स्थानीय भारती राईले मेयर साम्पाङलाई गुनासो गरेकी थिइन् । उनको गुनासोको आधारमा मेयर साम्पाङले स्थानीयबासी, उपभोक्ता र वडा कार्यालयसँग समन्वय नगरि तत्कालिन नगर प्रहरी प्रमुख विष्णु कोइरालालाई डोजर लगेर भत्काइदिन आदेश दिएका थिए । उक्त ग्याबिनबारे वडाअध्यक्षले नगरलाई जानकारी नदिएको र वडाका प्राविधिकलाई पनि थाह नभएको दाबी गर्दे आएका छन् ।
मेयरको आदेशपछि डोजर लिएर तत्कालिन नगर प्रहरी प्रमुख कोइराला पुगेपनि वडाअध्यक्ष र स्थानीयको चर्को विरोध पछि फर्केका थिए । सोही घटनामा भत्काउने आदेश पालना नगरेको, गोप्य सुचना चुहाएको भन्दै कोइरालालाई विदामा बस्न मेयर साम्पाङले निर्देशन दिएका थिए । अहिले उनी नगर प्रहरी प्रमुख पदबाट हटिसकेका छन् । प्रदेशको बजेट दुरुपयोग गरेको भन्दै मेयर साम्पाङले अख्तियारमा पनि छानबिन गरि कारबाही गर्न पत्राचार गरेका थिए ।
उक्त घटनाको केही दिनपछि मेयर साम्पाङको मौखिक निर्देशनमा साँझको बेला नगर प्रहरी असई मंग्रातीको कमाण्डमा नगर प्रहरीको टोली गएर उक्त ग्याबिन भत्काइएको थियो । ग्याबिन भत्काउन भारती राई र उनका आफन्तजनहरुले पनि सघाएका थिए । प्रहरीले अन्यको पनि खोजी गरिरहेको जनाएको छ । ग्याबिन भत्काएर सार्वजनिक सम्पत्ति क्षति पुगेको भन्दै उपभोक्ता समिति, वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयमा छानबिन गरि कारबाही गर्न निवदेन दिएको थियो । प्रशासनको टोलीले स्थलगतरुपमा आएर छानबिनसमेत गरेको थियो ।