धरान: राष्ट्रिय जनमुक्ति पार्टीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्यकर्मीहरुको लागि १० थान पिपिई हस्तान्तरण गरेको छ ।

पार्टीको धरान उपमहानगर कमिटीले पार्टीको संघीय परिषदको कोरोना विपद, उद्दार तथा राहत कोषमार्फत उपलब्ध भएको पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट प्रतिष्ठानलाई आज हस्तान्तरण गरेको हो । पार्टीका केन्द्रीय सचिव विष्णु थाम्देनले उक्त १० थान पिपिई प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरेका थिए ।

पार्टीका धरान अध्यक्ष चित्र थापा मगरका अनुसार पार्टीको केन्द्रीय राहत कोषमार्फत प्रदेश एकका थुप्रै स्थानीय तहमा पिपिई सहयोग आएको छ । त्यसमध्ये धरानको वीपी प्रतिष्ठानको लागि १० थान उपलब्ध गराइएको हो । प्रतिष्ठानमा हालै १०० बेडको कोभिड १९ अस्पताल सञ्चालनमा आएको छ । अध्यक्ष मगरका अनुसार महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले तयार गरेको पिपिई सहयोग गरिएको हो । ‘वीपीका डाक्टरहरुले पनि हेरेर ठिक छ भनेपछि मात्र हस्तान्तरण गरिएको हो,’अध्यक्ष थापाले भने । हस्तान्तरण कार्यक्रममा केन्द्रीय सचिव थाम्देनसँगै नगर अध्यक्ष थापा, नगर सल्लाहकार डा.किशोर गुरुङ, किशोर खड्गी,जनमुक्ति युवा महासंघका धरान अध्यक्ष मणी राई इना पनि सहभागी थिए ।

चिन्ता लिनुपदैन, उपचार गर्न तयार छौं: उपकुलपति डा.गिरी

bp-vc 1

वीपी प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सबैको सहयोगले एक साताभित्र कोभिड १९ अस्पताल तयार भएको उल्लेख गर्दै कोरोनाको उपचारको लागि सबै किसिमको तयारी गरिएको बताएका छन् । जनमुक्ति पार्टीकोतर्फबाट पिपिई लिए पछि संक्षिप्त मन्तव्य राख्दै उपकुलति डा.गिरीले कोरोनासँग जुध्ने तयारी अझै गरिरहेको पनि बताए ।

थप सय बेड विस्तार गर्ने र आवयकता पर्यो भने ५ सय बेड पनि बनाउने उनले दोहोर्याए । ‘आवश्यकता र थ्रेट आयो भने ५ सय बेड पनि बनाउछौं ।अस्ति मुख्यमन्त्री निरीक्षणमा आउदा पनि प्रेसको अघि भनिसको छुँ,’डा.गिरीले भने । उनले उपचारको सबै किमिसको तयारी वीपीसँग भएको पनि जिकिर गरे । जनतामा कुनै असुरक्षा र चिन्ता गर्नुपर्ने अवस्था नभएको उनको भनाई छ थियो । ‘हामी अझै पनि सजग छौ कि परिस्थिति आयो भने ५ सय बेडदेखि हजार बेडसम्म जानसक्छौं । परिआएको खण्डमा उपचार सम्भव छ, त्यसको लागि सबै तयारी छ,’उपकुलपति डा.गिरीले भने ।