काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटि बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ।
संसद विघटन भएपछि आज बसेको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पर्सि पुष ७ गते आकस्मिक केन्द्रीय कमिटि बैठक पनि बोलाउने निर्णय गरेको छ । उक्त बैठकमा ओलीलाई कारबाही गर्ने निर्णयको प्रस्ताव पेश हुनेछ । बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो कदमविरुद्ध राजनीतिकसँगै कानुनी उपचार पनि खोजिनेछ ।
बैठकले भोली सोमबार दिउँसो १ बजे नेकपा संसदीय दलको बैठक पनि बोलाउने निर्णय गरेको छ । साथै, दिउँसो ३ बजे स्थायी कमिटी बैठक पनि बस्ने नेकपाले जनाएको छ । बैठकमा ४५ सदस्यीय स्थायी कमिटीको आमन्त्रित ४ सहित ३१ जना उपस्थित थिए । बैठकमा अध्यक्ष ओलीसहित उनी पक्षीय नेताहरु सहभागी थिएनन् ।