धरान: प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समुहको केन्द्रीय सदस्यहरुको बैठकले धरानका ३ जना नेतासहित सुनसरीका ८ जनालाई महाधिवेशन आयोजक कमिटी सदस्यमा मनोनित गरेको छ ।
आज बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई महाधिवेशन आयोजक कमिटीमा मनोनित गरेको हो । कमिटीमा मनोनित भएकाहरुमा धरानका मोतीराज सुनुवार, विजयकुमार राई र मुरारी सुवेदी छन् । सुनुवार यसअघि नेकपा प्रदेश कमिटि सल्लाहकार रहेका थिए भने राई र सुवेदी प्रदेश कमिटि सदस्य रहेका थिए ।
यसैगरि, केन्द्रीय सदस्यमा इटहरीका नेता रेवतीरमण भण्डारी, सर्बध्वज साँबा, ओम कोइराला, लक्ष्मी गौतम र इनरुवाका खेमराज पोख्रेल पनि मनोनित भएका छन् । भण्डारी संविधानसभा सदस्य पनि हुन् भने साँवा प्रदेशसभा सदस्य रहेका छन् । यस्तै, गौतम इटहरीकी उपप्रमुख रहेकी छिन् । कोइराला मजदुर आन्दोलनको इतिहास बोकेका नेता हुन् । पोख्रेल इनरुवा नगरपालिकाका पुर्वप्रमुख हुन् । बालुवाटारमा बसेको बैठकले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गरेको थियो । साथै एकताको महाधिवेशन आगामी बर्ष २०७८ को मंसिर २ गते गर्ने पनि बैठकले निर्णय गरेको थियो ।