विराटनगर ः गृहमन्त्री रामबहादुर थापा वादलले पार्टीकै पदलोलुपहरुले गर्दा अहिले मुलुकको असामान्य परिस्थिति सृर्जना भएको बताएका छन् ।
नेकपा ओली समुहले आज विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले पार्टीका पदलोलुपहरुकै कारण देश अस्थिरतातर्फ धकेलिएको बताए । देशलाई अस्थिरताबाट मुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान गरेको निर्णय लोकतान्त्रिक र अग्रगामी कदम भएको पनि उनले बताए । ‘पार्टीका पदलोलुपहरुले यो असामान्य अवस्था सृर्जना गरेका हुन्, देशलाई अस्थिरतातिर धकेलेका हुन् । देशको विकासलाई अवरुद्ध गरेका हुन्,’उनले भने ।
निर्वाचन गराएर ताजा जनादेश लिने निर्णयलाई प्रतिगमन भनिरहेकोप्रति गृहमन्त्री वादलले नेकपाका अवसरवादीहरुले हिटलरको प्रचारमन्त्री गोयवल्सको शैलीमा जनतामा भ्रम छरिरहेको आरोप लगाए । उनले ताजा जनादेश लिनु लोकतान्त्रिक र अग्रगामी कदम भएको उनको भनाई थियो । ‘नेकपाभित्र लुकेका अवसरवादीहरु हिटलरको प्रचारमन्त्री गोयवल्स भइरहेका छन् । जनतामा भ्रम छरिरहेका छन् । जनताको ताजा जनादेश लिनु लोकतान्त्तिक अग्रमामी कदम हो कि प्रतिगामी कदम हो ?,’नेता वादलले भने,‘जस्केलाबाट सरकार अपदस्त गर्नु प्रतिगामी हो कि अग्रगामी कदम हो ?’
आफ्नै सरकारलाई अलोकतान्त्रिकढंगले अपदस्त गर्ने सोच अवसरवादी र प्रतिगामी कदम भएको वादलले बताए । ‘जनताको बीचमा जाने, जनतालाई नै न्यायाधिश बनाउने, जनताले नै पैmसला गर्ने लोकतान्त्रिक विधि हो । त्यो कसरी अलोकतान्त्रिक विधि भयो ?,’वादलले प्रचण्ड माधव समुहप्रति लक्षित गर्दै भने,‘ तर उनीहरुले गोयवल्सको सिद्धान्त अनुसार झुटलाई, असत्यलाई जनतामा भ्रम छरिरहेको छ । आफ्नो पदलोलुपतालाई पुरा गर्न सकिन्छ कि भनेर चलिरहेका छन् ।’ उनले पदलोलुपता भएकाहरुलाई जनआक्रोशले हिटलर जस्तै समाप्त पार्ने पनि बताए ।
प्रधानमन्त्री बन्न चाहनेहरुलाई चुनाव अवसर भएको वादलको भनाई थियो । ‘जो प्रधानमन्त्री बन्न चाहन्छन्, उनीहरुलाई अवसर हो । निर्वाचनमा आउन्, जनताको विश्वास जितुन्, र संसदमा बहुमत बनाएर होउन् । यो लोकतान्त्तिक विधि हो,’उनले भने,‘उनीहरु प्रधानमन्त्री, मन्त्री, राष्ट्रपति पनि हुन सक्छन् । महत्वकांक्षीहरु पनि आउनुस्, निर्वाचनमा सहभागी बन्नुस्, र आफ्नो महत्वपकांक्ष पुरा गर्नुस्, यो हाम्रो अफर हो, निमन्त्रणा पनि हो ।’