धरान:प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा एमालेको बहुमत हुने दाबी गरेका छन् । 

मुख्यमन्त्रीको शपथ लिएपछि आज सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै आचार्यले एमालेको बहुमत रहने दाबी गरेका हुन् । उनले लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्ने र आफ्नै बहुमत पुर्याउने बताए । उनले भने, ‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्छौं र, आफ्नै संख्या पनि पुर्‍याउँछौं ।’ मुख्यमन्त्री आचार्यले चाडै मन्त्रीपरिषद पनि विस्तार गर्ने बताए । 

प्रदेशसभामा नेकपा एमालेको स्पष्ट बहुमत भएपनि माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) दल दर्ता भइसकेकोले कति सांसद त्यता जान्छन् भन्ने प्रष्ट भइसकेको छैन । मुख्यमन्त्री आचार्यको सरकारको आयु कति जना एमाले सांसद एकीकृत समाजवादीतिर खुल्छन् भन्नेमा भर पर्छ । हालको अंकगणित अनुसार ९३ सदस्यीय प्रदेशसभामा एमालेको ५१ जना बहुमत सांसद छन् । तर, ६ जना सांसद मात्रै पनि एकीकृत समाजवादीतिर गएमा एमालेको सरकार अल्पमतमा पर्नेछ, र गठबन्धनको सरकार बन्नेछ ।