धरान: राष्ट्रिय प्रजातन्त्र पार्टी धरानले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकक्षमा जारी तालाबन्दी खोल्न आग्रह गरेको छ ।
राप्रपा धरानका अध्यक्ष नविन पराजुलीले आज बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै पदाधिकारीहरुको कार्यकक्षमा जारी तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएका छन् । प्रतिष्ठान स्वच्छ हुनुपर्ने, खरिद कार्य पारदर्शी हुनुपर्ने, स्वास्थ्य सेवा छिटो र छरितो हुनुपर्नेलगायत हालको सुद्धिकरणको मागको पक्षमा रहेपनि आधिकारिक निकाय र सरकारलाई अविश्वास गरि पदाधिकारीहरुको कार्यकक्षमा जारी तालबन्दी स्वीकार गर्न नसकिने राप्रपाले जनाएको छ । विज्ञप्तीमा भनिएको छ,‘अतः आन्दोलनकर्मीहरुलाई चाँडो भन्दा चाँडो पदाधिकारीहरुको कक्षमा लगाइएको ताला खोलेर प्रतिष्ठानको दैनिक कार्य सुचारु गराउने वातावरण सिर्जना गर्न हुन बिशेष अनुरोध गर्दछौ।’
लामो समय तालाबन्दी हुँदा पदाधिकारीहरु काम गर्नबाट बञ्चित हुने र प्रतिष्ठानको मुल जगलाई कमजोर बनाई र भत्काई धरानलाई पुनः मृत शहरमा परिणत गर्ने आशय प्रतिबिम्बित भएको पनि राप्रपाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । उक्त तालाबन्दीको कार्यक्रम फिर्ता लिन आन्दोलनकर्मीहरुसँग सहजीकरण र पहल गर्न राप्रपाले सबै पक्षसँग अनुरोधसमेत गरेको छ । राप्रपाले छानबिन प्रतिवेदनको आधारमा दोषीहरुलाई कारबाही हुनुपर्छ भन्ने मान्यता रहेको पनि विज्ञप्तीमा उल्लेख छ । साथै, अख्तियारलाई संकलन भएको फाइल, कागजपत्र अध्ययन गरि कानुनी हिसाबले निक्यौल गर्न केही समय दिनुपर्ने राप्रपाको भनाई छ।
गत असार १ गतेदेखि प्रतिष्ठान सुद्धिकरण आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले असार १६ गते उपकुलपति, रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशक गरि चारै जना पदाधिकारीको कर्यकक्षमा तालाबन्दी गरेको थियो । आन्दोलनको माग वमोजिम उच्चस्तरीय छानबिन कार्यदल गठन भएर प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । समितिले चारै जना पदाधिकारीहरुलाई विभिन्न अभियोगमा कारबाही गर्न सुझाव दिएको थियो भने स्वास्थ्य मन्त्रालयको वार्ता समितिले पनि आन्दोलनकर्मीहरुसँग चारै जना पदाधिकारीलाई पदमुक्त गर्न प्रक्रिया थाल्ने सहमति गरेको थियो । तर, छानबिन प्रतिवेदन र सहमति कार्यान्वयन भएको छैन । यो बीचमा अख्तियारको टोलीले प्रतिष्ठानमा भएको अनियमितताबारे छानबिन थालेको छ ।