धरान: नेकपा एमालेबाट धरान उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा निवार्चित कैलाश अग्रवालले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

धरानमा एमाले त्यागेर एकीकृत समाजवादी रोज्ने उनी एक मात्र जनप्रतिनिधि हुन् । अग्रवालले आज जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर एकीकृत समाजवादीमा भएको सनाखत गरेका छन् । अग्रवालले आफुले एकीकृत समाजवादी रोजेको पुष्टि गरे । क्लिकधरानसँग प्रतिक्रिया दिदै उनले २०६६ सालमा नेकपा एमाले प्रवेश गर्दा पार्टी अध्यक्ष झलनाथ खनाल भएको कारण अहिले पनि उनैलाई अध्यक्ष मानेर समाजवादी गएको बताए । ‘म २०६६ सालमा एमाले भएको हुँ, त्यतिबेला अध्यक्ष झलनाथ खनाल हुनुहुन्थ्यो,’अग्रवालले भने,‘उहाँ नै अर्को पार्टीमा जानु भएकोले मेरो अध्यक्ष नै उहाँ हो, त्यसैले म पनि गएको हुँ ।’

अग्रवाल २०६६ सालमा राप्रपा पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका थिए । उनलाई २०७४ सालको स्थानीय तह निर्वाचनको बेला एमालेले कार्यपालिका सदस्यमा निवार्चित गरेको थियो । एमालेले उनलाई चुनावको बेला महत्वपुर्ण आर्थिक विभागको जिम्मेवारी दिने गरेको थियो ।