धरानः नेकपा माओवादी केन्द्रको सुनसरी जिल्लामा तीब्र गुटबन्दी र विवाद थप चर्कदै गएको छ ।
नेताहरुबीचको विवाद र गुटबन्दी जारी रहदा प्रदेश समितिले जिम्मेवारी हेरफेर गरेपछि विवाद उत्कर्षमा पुगेको छ । विवाद चर्कदै गर्दा जिम्मेवारी हेरफेरप्रति असन्तुष्टी जनाउदै एक पक्षले पार्टीको प्रदेश १ समिति कार्यालयमा नै तालाबन्दीसमेत गरेको छ ।
माओवादी केन्द्रको असोज १३ गते बसेको प्रदेश समितिको कार्यालय बैठकले जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको जनाएको छ । जसअनुसार जिल्ला समन्वय समिति संयोजक योगेन्द्र मण्डललाई सहइञ्चार्जको जिम्मेवारीमा पदस्थापन गरेको छ भने संयोजकको जिम्मेवारी सुरेन्द्र मेहतालाई दिने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ।
यसैगरि, धरान उपमहानगरपालिका इञ्चार्जको जिम्मेवारी अइन्द्रबिक्रम बेघाले पाएका छन् भने यसअघि अध्यक्ष रहेका फोक्वाहाङ सुब्बा (चोत्लुङ)लाई सहइञ्चार्जको जिम्मेवारी दिइएको छ । सहइञ्चार्जमा उनीसँगै प्रकाशप्रताव ल्वागुन रहेका छन् । यसअघि भने मण्डलको अध्यक्षतामा बसेको जिल्ला समन्वय समिति बैठकले जिल्ला मातहतका विभिन्न तह, क्षेत्रहरुको जिम्मेवारी तोकिएको थियो ।
प्रदेश समितिको पछिल्लो निर्णयप्रति सुनसरीमा एक पक्ष भने तीब्र असन्तुष्ट रहेको छ । यसको विरोध गर्दे नेता योगेन्द्र मण्डलको नेतृत्वमा आइतबार पार्टीको प्रदेश समिति कार्यालयमा तालाबन्दीसमेत भएको छ । माओवादी केन्द्र सुनसरीको संयोजकरुपमा मण्डल र सचिवकोरुपमा सपना परियार सन्ध्याले एक विज्ञप्जी जारी गर्दै मण्डललाई विना कारण हटाएर केही दिन अघि नेकपा एमाले प्रवेश गरेको सुरेन्द्र मेहतलाई संयोजक तोकेकोमा आपत्तिसमेत जनाएका छन्।
उनीहरुले आन्दोलनमा निरन्तर क्रिायशिल नेता, कार्यकर्ताहरुलाई पाखा लगाएर विधि, पद्दती मिचेर गुटगत आधारमा जिम्मेवारी दिदै पार्टीलाई ध्वस्त बनाउने निर्णय तत्काल फिर्ता लिन पनि माग गरेका छन् । माग पुरा नभएसम्म तालाबन्दी जारी रहने पनि विज्ञप्तीमा उल्लेख छ ।