धरान: तेह्रथुमको लालिगुराँस नगरपालिकाका मेयर एवं लेखक अर्जुनबाबु माबुहाङ र अमित थेबेद्वारा लिखित ‘सिरजङ्गा‚ फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ सार्वजनिक गरिएको छ । 

धरान १२ चतरालाइनस्थित होटल पुर्वी स्टारमा बिहिबार आयोजित एक कार्यक्रममा प्रदेश १ का प्रमुख पर्शुराम खापुङले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । याक्थुङ भाषा र सिरिजङ्गा लिपिका विकासकर्ता, उत्थानकर्ता एवम् प्रचारककारुपमा रहेका सिरिजङ्गा सि थेबेको योगदानमा केन्द्रित भएर उक्त पुस्तक लेखिएको हो ।  

तङ्सिङ मिडिया ग्रुप प्रालिद्वारा आयोजित विमोचन समारोहमा बोल्दै लेखक माबुहाङले सिरिजङ्गाका बारेमा खोज्न ताप्लेजुङको सिनाम, तेल्लोकदेखि सिक्किमसम्म पुगेको जानकारी दिए । उनले गाउँघरमा सिरिजङ्गा लिपि अभ्यास गरेका केही लेखोटहरू भेटिएको र केही वंशावलीमा सिरिजङ्गाको नाम पनि भेटिएको जानकारी दिए । 'तर, सिरिजङ्गाले लेखेका सक्कल लेखोट भने पाउन नसकेको लेखक माबुहाङले जानकारी दिए । त्यसैले हाम्रो लेखन सिरिजङ्गाका बारेमा सुनिएका लोकोक्तिलाई टिपोट गर्ने र सिरिजंगाका बारेमा क(कसले के के लेखेका छन् र सिरिजङ्गाका संकलित लेखोटमा के के लेखिएका छन् त्यसको अध्ययन गर्न हामी केन्द्रित भयौ,'उनले भने । 

sirijangga

लेखोटमा लिम्बूहरूले पुस्तक पढ्नुपर्ने, ज्ञानको खोजी गर्नुपर्ने जस्ता अर्ति उपदेशहरू भेटिएको उनले लेखक माबुहाङको भनाई छ । सिरिजङ्गाका बारेमा गरिएको अध्ययनले सिरिजंजा एउटै भएको पुष्टि भएपनि सिरिजंगाको जन्म, मृत्यु, तिथिमिति सच्याउन जरुरी रहेको उनले बताए । सिरिजङ्गा लिपिको लेखन, प्रचार/प्रसारमा फाल्गुनन्दका अनुयायी सत्येमाङ र सत्यहाङ्माहरूको ठूलो भूमिका देखिएको पनि लेखक माबुहाङले जानकारी दिए । 

पुस्तकबारे डा.रामनारायण कन्दङ्वा र युमा साम्यो महासभाका महासचिव डा.रमेश इजमले टिप्पणी गरेका थिए । उनीहरुले पुस्तक ऐतिहासिक दस्तावेज हुने धारणा राखे । यस्तै, पुर्वप्रदेश प्रमुख प्रा.डा.गोविन्द सुब्बाले पनि मन्तव्य व्यक्त गरेका थिए ।