धरान: कोशी प्रदेशका सांसद विजय राईले पत्रकारले समाजको राम्रो, नराम्रो दुवै पक्ष जनतामाझ देखाउनुपर्ने भएपनि धरानको समस्या र वास्तविकता लुकाउने काम भइरहेको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महसंघ सुनसरीले आयोजना गरेको प्रभातफेरि पछिको कोणसभालाई सम्बोधन गर्दै सांसद राईले यस्तो धारणा राखेका हुन् । उनले पत्रकार व्यक्तिको गुणगान गाउने काम गरिरहेको र वास्तविकता जनतालाई देखाउने काम नभएको भन्दै आक्रोश पनि पोखे । ‘यहाँको समस्याको समाधान कति भयो ? मिडियालाई पछि लगाएर समस्या छैन भनेर वाह वाह त कमाइरहेको छ तर वास्तविकता मिडियाले किन नल्याएको ?’ उनले भने,‘धरान काकाकुल भइरहेको छ, तर पानीको समस्या छैन भनिरहेको छ ।’

सांसद राईले जर्बजस्ती पार्किङ शुल्क लिएर जनताको अपमान भइरहेको तर मिडियाले नलेखेको भन्दै आक्रोश पोखे । ‘एउटा व्यक्तिको गुणगान गाएको छ, भात खाएको फोटो हालेको छ । यो त निरंकुशताभन्दा बढी भयो,’ उनले भने,‘हिजोको दिनमा धरानको समस्याहरु मिडियाले उजागर गरेको थियो ।’

मिडियाले धरानमा भएको समस्या नलुकाई लेखिदिन पनि आग्रह गरे । ‘चाहे दलको नेताले गरेको गल्ती होस्, प्रदेशसभाका सदस्यहरुले गरेको होस्, मेयर, उपमेयरले गल्ती गरेको छ भने जनताको बीचमा छर्लङ्ग पार्नु पत्रकारको धर्म पनि हो,’ उनले भने ।

भिडियो: