विराटनगर: प्रदेश १ मा कोरोना भाईरसको केन्द्रविन्दु मानिएको उदयपुरको भुल्केका १ हजार ४ सय व्यक्तिका लागि आज होमीयोपेथिकऔषधी हस्तान्तरण गरिएको छ ।

नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोभिड १९ व्यवस्थापन तथा रोकथाम संवन्धिको मापदण्ड अनुसारको औषधि त्रियुगा नगरपालिका ३ भुल्केका बासिन्दाका लागि हस्तान्तरण गरिएको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका डा. सरोजप्रसाद विशाल र नेपाल होमियोप्याथिक एशोसियनका अध्यक्ष डा. घनश्याम सुवेदीले उदयपुरको त्रियुगा नगरपालिकाका प्रमुख वलदेव चौधरीलाई सो होमीयोपेथिक औषधि हस्तान्तरण गरेका हुन् । उदयपुर उच्च जोखिममा रहेको जिल्ला भएकाले पहिलो चरणमा भुल्कमा औषधी लगिएको डा. विशालले बताए । प्रत्येक दिन विहान खालीपेटमा तीन दिनसम्म होमीयोपेथिक औषधि खानु पर्ने अखिल नेपाल होमियोप्याथिक एशोसियनका केन्द्रिय अध्यक्ष डा. घनश्याम सुवेदीले बताए ।

आयातित औषधि खपत गरेर नेपालमा कोरोना जित्न संभव नभएकोले स्थानीय श्रोत साधानलाई परिचालन गरेर रोग प्रतिरोधात्मक क्षमता बढाउने होमीयोपेथिक औषधि प्रयोग गर्ने प्रोटोकल तयार गरिएको डा. विशालले बताए । होमीयोपेथिक औषधी स्थानीयवासीलाई वितरण गर्नुअघि औषधिको बारेमा जानकारी गराईएको थियो । सो कार्यक्रममा प्रदेश सासद अम्बिका थापा, सुनिता चौधरी, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले औषधीको गुणस्तरीयता र उपयोगिताको बारेमा जानकारी दिएका थिए । टोलीले त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा क्वारेन्टाइनमा बसेका २० जना र भुल्केका सबैलाई तीन दिनसम्म पुग्ने औषधि उपलब्ध गराइएको थियो ।