धरान: कोशी अस्पताल विराटनगरमा पिसिआर टेष्ट गर्दा पाजेटिभ देखिएका उदयपुरको भुल्केका ८ जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।
प्रतिष्ठानमा उनीहरुको थ्रोट स्वाब लिने काम भइरहेको छ । उनीहरुलाई प्रतिष्ठानमा नै राख्ने कि विराटनगरको कोभिड १९ उपचार केन्द्रमा पठाउने भन्ने निर्णय हुन बाँकी छ । उनीहरुसहित कुल ६९ जनाको शनिबार भुल्केमा स्वाबको नमुना लिइएको थियो । उक्त नमुनाको परीक्षण विराटनगरस्थित कोशी अस्पतालमा भएको थियो । परीक्षण गर्दा ८ जनाको पोजेटिभ रिपोर्ट आएपछि भेरिफिकेशन गर्न नमुना वीपी पठाइएको थियो ।
विराटनगरबाट पठाइएको नमुनाको परीक्षण भइरहेको छ भने पोजेटिभ देखिएका व्यक्तिहरुलाई पनि वीपी पठाइएको त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले बताए । वीपी प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास साहले उदयपुरका ८ जना वीपी आइसकेको र स्वाबको नमुना लिने काम भइरहेको जानकारी दिए ।