धरान: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कोरोना नियन्त्रण, रोकथाम र उपचारमा उच्च मनोवलका साथ काम गर्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् ।

आज उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा स्थलगत वस्तुस्थिति बुझ्न पुगेका मुख्यमन्त्री राईले यस्तो आग्रह गरेका हुन् । ‘सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवालको साथ काम गर्न आग्रह गर्छु,’मुख्यमन्त्री राईले भने । मुख्यमन्त्री राईले स्थानीय तहहरुमा कोरोनाको रोकथाम, नियन्त्रण र उपचारको लागि आवश्यक बजेट विनियोजन गरेर पठाएको उल्लेख गर्दै सहीरुपमा सदुपयोग हुने अपेक्षा पनि व्यक्त गरे ।

यस्तै, मुख्यमन्त्री राईले उदयपुरमा आइसोलेशनसहितको कोरोना उपचार केन्द्र निर्माण गर्ने पनि बताएका थिए । यसको लागि उपयुक्त ठाउँको खोजी भइरहेको मुख्यमन्त्री राईको भनाई थियो । ‘संक्रमित परिवार, जोखिममा रहेका परिवारलाई वृहतरुपमा परीक्षण गर्नुपर्ने हुन्छ,’मुख्यमन्त्री राईले भने,‘उपयुक्त ठाउँमा आइसोलेसनसहितको अस्पताल बनाउछौं ।’

मुख्यमन्त्री राईले कोरोनालाई जित्न लकडाउनको पालना गर्नु नै प्रमुख हतियार भएकोले सबैलाई घरमा नै रहन आग्रह पनि गरे । ‘जो जहाँ छौं, त्यही रहनुस् । अहिले कारोनासँग लड्न र जित्न एक मात्र हतियार लकडाउन मात्र हो,’उनले भने ।

बेल्टारमा कोरोना अस्पताल बनाउन माग

udayp

प्रदेशसभाका सदस्य एवं सांसद विमल कार्कीले उदयपुरको बेल्टारस्थित सशस्त्र बेस क्याम्पमा कोरोना उपचार केन्द्र बनाउन प्रदेश सरकारसँग माग गरेका छन् । उनले औपचारिकरुपमा यो प्रस्ताव प्रदेश सरकारसँग गर्न भने बाँकी रहेको पनि बताए । यद्यपी, त्रियुगाका मेयर वलदेव चौधरीले पनि शनिबार मुख्यमन्त्री उपस्थित कार्यक्रममा कोरोना अस्पताल भुल्केलाई पायक पर्ने ठाउँमा बनाउन माग गरेका थिए ।

मुख्यमन्त्री, मन्त्रीहरुले उपयुक्त ठाउँको खोजी गरेर कोरोना उपचार केन्द्र बनाउने धारणा व्यक्त गरेका थिए । स्थानीय जनप्रतिनिधिहरुले भने बेलस्रोत वा अन्यत्र भन्दा कोरोना संक्रमणको बढी प्रभावित भुल्के र जोखिम भएको चौदण्डीगढीको सिवाई क्षेत्र भएकोले यी दुई क्षेत्रलाई सहज हुने गरि उपचार केन्द्र बनाउनुपर्ने धारणा छ । ‘बेल्टारमा एपिएफको बेसक्याम्पस बनेको छ, तर सशस्त्र सरिसकेको छैन । वस्ती भन्दा टाढा र एकान्तमा पनि भएकोले त्यहाँ बनाउन उपयुक्त हुन्छ,’सांसद कार्कीले भने,‘प्रभावित क्षेत्र भुल्के र जोखिममा रहेको सिवाई पनि नजिक हुने भएकोले त्यही ठिक हुन्छ ।’

अहिले संक्रमितलाई व्यक्तिलाई विराटनगरको कोडिभ अस्पताल र धरानको वीपी प्रतिष्ठान पठाउनुपर्ने अवस्था छ । प्रदेश सरकारले सबैभन्दा बढी संक्रमित भेटिएको उदयपुरमा पनि उपचार केन्द्र बनाउने योजना छ । यसको लागि उपयुक्त ठाउँ खोजी भइरहेको बताएको छ ।