धरान: कोरोना पोजेटिभ व्यक्तिहरु भेटिएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा आइतबार डेढ सय बढीको थ्रोट स्वाब संकलन गरिएको छ ।
नेपाली सेनाको चिकित्सक टोलीले भुल्केमा १ सय ५२ जनाको स्वाब लिएको हो । भुल्केस्थित एक मस्जिदमा रहेका १२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो भने पछि थप एक जनामा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरुलाई विराटनगरस्थित कोरोना बिशेष अस्पतालमा उपचार भइरहेको छ ।
मस्जिदमा संक्रमित व्यक्तिहरु भेटिए पछि प्रशासनले भुल्के गाउँलाई सिल गरेको थियो भने उनीहरुको सम्पर्कमा रहेका परिवारको पहिचान गरेको थियो । तिनै मध्ये स्थानीय ५२ परिवारका १ सय ३४ जना र सेनाको १८ जनाको जनाको स्वाब संकलन गरिएको हो । हिजो पनि त्यहाँका ६९ जनाको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका सेनाहरु १८ जना बाहिनी अड्डाको परिसरमा सर्पदंश उपचार केन्द्रमा कार्यरत चिकित्सक र बाहिर निस्कने सेनाहरु भएको बताइएको छ । उनीहरु संक्रमति क्षेत्रका मानिसहरुको सम्पर्कमा भएको आर्शंकामा स्वाब संकलन गरिएको हो ।