धरान: उदयपुरको भुल्केका थप ८ मा कोरोना संक्रमणको आशंका गरिएको छ ।
विराटनगरमा गरिएको स्वाब परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि भेरिफिकेशनको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । सरकारले पुर्वमा पिसिआर परीक्षणमा पोजेटिभ देखिएमा वीपी प्रतिष्ठानमा भेरिफिकेशन गर्ने व्यवस्था गरेको छ । भुल्केका थप ८ जनामा पोजेटिभ देखिएको र भेरिफिकेशनको लागि धरान पठाएको त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले पुष्टि गरे । ‘८ जनाको भेरिफिकेशनको लागि धरानमा पठाइएको छ,’उनले भने ।
चारदिन अघि उदयपुरको त्रियुगा नगरपालिका ३, भुल्केस्थित एक मस्जिदमा रहेका १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने पछि थप एक जनामा पोजेटिभ देखिएको थियो । ती १३ जना मध्ये ११ जना भारतीय नागरिक हुन् भने २ जना नेपाली हुन् । उनीहरुको अहिले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ । मस्जिदमा रहेकाहरुको पोजेटिभ देखिएपछि भुल्के गाउँलाई सिल गरेर पहिलो चरणमा ६९ जनाको स्वाब लिइएको थियो भने हिजो थप डेढ सयको स्वाब लिइएको छ ।